Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

सोलारमा चट्याङले क्षति पुर्‍याएपछि खानेपानीको समस्या

सोलारमा चट्याङले क्षति पुर्‍याएपछि खानेपानीको समस्या

  • 217
    SHARES
  • सोलारमा चट्याङले क्षति पुर्‍याएपछि खानेपानीको समस्या

    चितवन । चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित खानेपानी आयोजनाको सोलारमा चट्याङले क्षति पुर्‍याएपछि स्थानीय खानेपानीको समस्यामा परेका छन ।

    चण्डिभञ्ज्याङ्मा सञ्चालित ढुंग्रे लिफ्टिङ खानेपानी आयोजनाको सोलारमा असार ८ गते परेको चट्याङले क्षति पुर्‍याएको थियो । क्षति पुर्‍याएको महिना दिन पुग्न लाग्दा पनि समयमै मर्मत गर्न नसक्दा खानेपानीको लागि स्थानीयले सास्ती व्यहोर्नु परेको हो ।

    दुई वर्षअघि सञ्चालनमा आएको उक्त खानेपानी आयोजनाको सोलार प्यानल र कन्ट्रोलरमा गत असार ८ गते परेको चट्याङले क्षति पुर्‍याएको ढङ्ग्रे–तुन्तेस खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष दिलकुमार गुरुङले जानकारी दिए ।

    उनका अनुसार चट्याङले आयोजनाको मुख्य पम्पिङमै समस्या आएपछि ट्यांकीमा पानी तान्न सकिएको छैनन् । ‘खानेपानीको सोलारमा क्षति भएकाले पुरानै अवस्थामा करिब १ घण्टा लगाएर कुवाको पानी पिउनुपर्ने बाध्यतामा स्थानीय छन्’,अध्यक्ष गुरुङले भने ।

    उनका अनुसार उक्त आयोजनाबाट ढुङ्ग्रेका करिब ३५ घरपरिवारका साथै राष्ट्रिय माध्यामिक विद्यालय ढुङ्ग्रे र चण्डिभञ्ज्याङ स्वास्थ्य चौकीले खानेपानी प्रयोग गरिरहेका थिए । लामो समयदेखि नियमित खानेपानी आपूर्ति हुन नसक्दा स्थानीयसँगै विद्यालय र स्वास्थ्यचौकीलाई समेत अप्ठ्यारो परेको उनको भनाइ थियो ।

    खानेपानीको अभावका कारण वर्षायाममा झरेको बलेनीको पानी संकलन गरी काम चलाउनु परेको राष्ट्रिय माध्यामिक विद्यालयका प्रध्यानाध्यापक विश्वनाथ गुरुङले बताए ।

    ‘पिउनका लागि हामी विद्यार्थीलाई स्थानीय कुवाबाट भरेर खानेपानी ल्याउन लगाएका छौँ भने शौचालयका लागि वर्षायाममा झरेको बलेनीको पानी संकलन गरी काम चलाइरहेका छौँ’, प्रध्यानाध्यापक गुरुङले भने ।

    खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिल गुरुङले चट्याङले क्षति पुर्‍याएको सोलार प्यानल र कन्ट्रोलर मर्मतको लागि समितिसँग रकम नभएकाले वडा र पालिकालाई अनुरोध गरेको बताउँदै पालिकाले अहिलेसम्म सुनुवाइ नगरेको जानकारी दिए ।

    इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले स्थानीयको गुनासो आउने वित्तिकै तत्कालै प्राविधिक पठाएर चट्याङले क्षति पुर्‍याएको कन्ट्रोलर मर्मतका लागि काठमाडौं पठाइएको बताए ।

    मर्मत कम्पनीले समयमै मर्मत गरेर जडान नगरिदिएकाले नियमित खानेपानी वितरणमा ढिलाइ भएको उनको भनाइ थियो । ‘अब दुईरतीन दिनभित्रैमा सामान ल्याएर जडान गरी पानी वितरणको तयारीमा छौँ’, अध्यक्ष गुरुङले भने ।

    वडा नं-६ का वडाध्यक्ष लक्ष्मण चेपाङले चट्याङले क्षति पुर्‍याएको स्थानमा विद्युत् पुगेकाले सोलार सिस्टम हटाई छिट्टै विद्युतीय सिस्टम जडान गरी खानेपानीको समस्याको दीर्घकालीन रुपमा समाधान गरिने बताए ।

    इच्छाकामना गाउँपालिकाको ‘एक घर एक धारा’ अवधारणाअन्तर्गत गाउँपालिकाको २५ लाख, जिल्ला समन्वय समिति चितवनको २५ लाख र बाग्मती प्रदेश सरकारको ५० लाख गरी कूल एक करोडको लागतमा साझेदारी सिरान ढङ्ग्रे, माझ ढुङ्ग्रे र तुन्तेस गाउँका करिब ८० घरधुरीमा खानेपानी पुर्‍याउनका लागि दुई वर्ष अघि उक्त खानेपानी आयोजना निर्माण गरिएको थियो ।

    ढुङ्ग्रे र तुन्तेसमा २० हजार लिटर क्षमताको छुट्टाछुट्टै पाँच वटा ट्यांकी निर्माण गरिएको छ भने करिब ८० घरमा घरैपिच्छे एउटा धारा निर्माण गरिएको आयोजनाले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij