Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

फोहरबाट कम्पोस्ट मल उत्पादन गर्दै मध्यविन्दु

फोहरबाट कम्पोस्ट मल उत्पादन गर्दै मध्यविन्दु

  • 345
    SHARES
  • फोहरबाट कम्पोस्ट मल उत्पादन गर्दै मध्यविन्दु

    नवलपरासी । फोहर व्यवस्थापन शहरी क्षेत्रका लागि चुनौती बन्ने गरेको छ । उचित व्यवस्थापन नहुँदा ठूला शहरले समस्या झेलिरहँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकाले भने फोहरबाट ‘कम्पोस्ट मल’ उत्पादन थालेको छ ।

    मध्यविन्दुले गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा ‘नवप्रर्वतन’ कार्यक्रममार्फत फोहर व्यवस्थापनको काम सञ्चालन गरेको छ । उक्त कार्यक्रममार्फत फोहरबाट कम्पोस्ट मल उत्पादन गर्ने काम गरिएको छ ।

    फोहरबाट मल उत्पादन र मललाई आम्दानीसँग जोड्ने गरी नगरपालिका अघि बढेको मध्यविन्दु नगरपालिका नगरप्रमुख भीमलाल अधिकारीले बताए ।

    नगरपालिकाले दिगोरूपमा नगरभित्रको फोहरमैला व्यवस्थापनको कामलाई अघि बढाउन फोहरसँगै आम्दानीलाई जोडेर हिँडाएको उनको भनाइ छ ।

    ‘फोहर व्यवस्थापन गर्दैगर्दा यसलाई दिगो बनाउन आम्दानीसँग जोड्ने योजनाअनुरुप काम अघि बढिरहेको छ, सोही योजनाअनुसार कम्पोस्ट मल उत्पादन जोडिएको हो’, नगरप्रमुख अधिकारीले भने ।

    नगरपालिकाले घरबाट उत्पादन हुने कुहिने फोहर तथा वन जंगलमा रहेका सुकेका पातबाट कम्पोस्ट मल उत्पादन थालेको छ । हालै मात्र विभिन्न समूहमा आबद्ध एक सय ४३ जनाले वन जंगलमा सुकेका पात संकलन गरी नगरपालिकालाई बेचेर आम्दानीसमेत गरेका छन ।

    प्रतिकेजी पाँच रुपैयाँ ४० सम्ममा पात खरिद गरी मल उत्पादन गरिएको छ । सुकेको पात, गाईभैँसीको गोबरको मात्रा मिलाएर मल तयार गर्ने गरिएको छ । पात संकलनबाट केही भएपनि आम्दानी भएको र सामान्य घरखर्च चलाउन सहयोग पुगेको स्थानीय सीता पुरीले बताइन् ।

    संकलित पातसहित घरबाट उत्पादन हुने कुहिने फोहरबाट समेत मल उत्पादनको काम अघि बढेको छ । सुक्खा समयमा वन जंगलमा सुकेका पात संकलन गर्दा वनमा हुने आगलागीका घटनामा कमी ल्याउनसमेत सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

    नगरले घरबाट फोहर वर्गीकरणलाई कडाइका साथ लागू गरेको छ । कुहिने र नकुहिने फोहर वर्गीकरणपछि घरबाटै फोहर व्यवस्थापनको काम हुने प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले बताए ।

    ‘फोहर वर्गीकरण गर्ने बित्तिकै कतिपयले कुहिने फोहर आफैँ पनि व्यवस्थापन गर्ने गर्नुभएको छ, यसबाट नगरले व्यवस्थापन गर्ने फोहरमा कमी आएको छ’, अधिकृत पनेरुले भने।

    गण्डकी प्रदेश सरकारको करिब दुई करोड १३ लाख र पालिकाको करिब ६४ लाखको लागतमा फोहरमैला व्यवस्थापनको कार्यक्रम अघि बढेको हो । कार्यक्रममार्फत फोहर व्यवस्थापन केन्द्र निर्माण, कम्पोस्ट मल तयार पार्ने उपकरणलगायतका सामग्री खरिद गरिएको छ ।

    कुहिने फोहरबाट कम्पोस्ट मल तयार गर्नका लागि आवश्यक गोबरको व्यवस्थापनका लागि छाडा चौपाया व्यवस्थापनको कामसमेत सँगै अघि बढेको छ । यसले आवश्यक गोबर मलको माग पूरा हुने साथै छाडा चौपाया व्यवस्थापनको काममा समेत सहयोग पुग्ने कार्यक्रमका ‘फोकल पर्सन’ विवेक पोख्रेलले जानकारी दिए ।

    फोहर व्यवस्थापनका क्रममा उत्पादन गरिने कम्पोस्ट मल नगरभित्रका किसानलाई सहुलियत दरमा उपलब्ध गराइने योजना छ । समग्रमा कार्यक्रमले फोहर व्यवस्थापन, स्थानीय रोजगारी सिर्जना, छाडा चौपाया व्यवस्थापन, कम्पोस्ट मल उत्पादनलाई जोड्ने पोख्रेलको भनाइ छ ।

    योसँगै उत्पादित कम्पोस्ट मलले कृषिमा रासायनिक मलको प्रयोगमा कमी ल्याउन, कृषि उत्पादन बढाउन र अग्र्यानिक उत्पादनलाई समेत सहयोग पुर्‍याउने उनले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij