वेबटिभी खबर
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका चेतराज चौधरी लामो समयदेखि कृषि पेसामा आबद्ध छन ।
पिपलाडीमा चौधरीको साढे चार बिघा जमिन छ । उनले खेतीपातीका लागि खेत जोत्न राँगा, गोरुको प्रयोग गर्न छाडेको पाँच वर्ष भइसक्यो । खेत जोत्नका लागि उनी अचेल ‘पावर टिलर’को प्रयोग गर्छन् ।
‘अगाडि राँगाले खेत जोत्थे, अहिले पावर टिलर छ, खेतीपाती गर्नका लागि अहिले प्रविधिको प्रयोग बढेको छ’, चौधरीले भने, ‘प्रविधिको प्रयोगले धेरै कृषकलाई धेरै सहजता थपेको छ ।’
वर्षौँदेखि उनले तरकारी, उखु, गहुँ तथा धानखेती गर्दै आएका छन । कुरेरुवा कृषक समूहमा आबद्ध उनले सरकारी अनुदानमा कृषियन्त्र खरिद गरेका थिए । उनीहरूसँग अहिले बालीनाली काट्नका लागि रिपर, रोपाइँ गर्नका लागि हिलो चक्का, जोत्नलाई पावर टिलरलगायतका उपकरण छन ।
‘धान, गहुँ काट्न, खेत जोत्न, रोपाइँ गर्न ती उपकरणको प्रयोग गर्छौँ’, चौधरीले भने, ‘कृषिमा परम्परागत शैली विस्थापित भएर नयाँ प्रविधि भित्रिएको छ ।’ शुक्लाफाँटा-२ लक्ष्मीपुरकी अनिला चौधरीले पनि केही वर्षयता खेतीपातीमा प्रविधिको प्रयोग गर्न थालेकी छन।
‘कम समयमै सहजै खेतीपाती गर्न सकिन्छ, अहिले गाउँमा अधिकांश कृषियन्त्रको प्रयोग गरेर खेतीपाती गर्छन्’, अनिलाले भनिन्, ‘यसले समयको बचत गरेको छ, उत्पादन पनि बढेको छ ।’ जनशक्ति, लागत र समयसमेत कम लाग्ने भएपछि पछिल्लो समय कञ्चनपुरमा कृषि क्षेत्रमा यान्त्रिकीकरण प्रयोग बढ्दै गएको छ ।
प्रविधिको प्रयोगमा किसानको आकर्षण बढ्दो छ । मानवीय श्रम साधन अभाव भइरहेको अवस्थामा कृषिमा यान्त्रिकीकरणको प्रयोग गरेर खेती हुन थालेपछि कृषक आत्मनिर्भर हुन थालेका छन ।
‘पहिले-पहिले परम्परागत तरिकाले खेती गथ्र्यौँ, त्यसले जनशक्ति र लागत बढी लागे पनि उत्पादन कम हुन्थ्यो’, अनिलाले भनिन्, ‘अहिले कृषियन्त्र उपकरणको प्रयोगले खेती गर्दैछौँ, यसले कम लागतमा बढी उत्पादन हुने गरेको छ ।’
कञ्चनपुरमा सरकारी तथा अन्य निकायका विभिन्न कार्यक्रमबाट नयाँ-नयाँ प्रविधि भित्रिएसँगै कृषिकर्ममा सहजता थपेको छ । गाउँमा काम गर्ने युवाहरू वैदेशिक रोजगारीका साथै अन्य क्षेत्रमा काम गर्न जाँदा कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव हुने गरेको छ ।
जनशक्ति एकदमै महँगिँदै गइरहेको अवस्थामा कृषि यान्त्रिकीकरणले कम खर्चमा उत्पादनमा वृद्धि हुने भएकाले प्रविधितर्फ कृषकको आकर्षण बढेको चेतराज चौधरीले बताए ।
‘विगतको जस्तो काम गर्ने जनशक्ति पनि छैनन्, कम जनशक्ति हुँदा प्रविधिले सहज गरेको छ’, चेतराजले भने, ‘अगाडि खेत जोत्न महिना दिन लाग्नेमा अहिले एक/दुई सातामै सकिन्छ ।’ कञ्चनपुरको कृषि क्षेत्रमा यन्त्र उपकरणको प्रयोग बढेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले बताए ।
‘कृषि कर्ममा प्रयोग हुने नयाँ/नयाँ यन्त्र, उपकरण सबैतिर पुगेका छन्, परम्परागत शैलीलाई प्रविधिले विस्थापित गरेको छ’, जोशीले भने, ‘व्यक्तिगत किनेर वा अनुदानमा किसानको पहुँचमा प्रविधि पुगेको छ ।’
उनका अनुसार पुनर्वास, बेलौरी, लालझाडी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, दोधारा चाँदनी, भीमदत्तलगायत ठाउँको कृषि क्षेत्रमा साना, ठूला उपकरणको प्रयोग भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij