वेबटिभी खबर
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा सय शय्याको आयुर्वेदिक अस्पताल निर्माण हुने भएको छ ।
दुई वर्षअघि सरकारले सातवटै प्रदेशमा आयुर्वेदिक अस्पाल निर्माण गर्ने निर्णयअनुसार अस्पताल निर्माण हुन लागेको हो । तीन बिघा क्षेत्रफलमा प्रादेशिक आयुर्वेदिक अस्पताल निर्माण हुने आयुर्वेद निर्देशनालयका निमित्त निर्देशक सूर्य उपाध्यायले जानकारी दिए ।
‘अस्पताल निर्माणका लागि आयुर्वेद विभागले तीन करोड बजेट विनियोजन गरेको छ’, निमित्त निर्देशक उपाध्यायले भने, ‘जग्गा प्राप्तिको प्रक्रिया टुंगिएसँगै निर्माणकार्य अगाडि बढ्छन् ।’
सुदूरपश्चिम प्रदेशमै पहिलोपटक सय शय्याको आयुर्वेद अस्पातल निर्माण हुन लागेको उनको भनाइ छ । सुदूरपश्चिम प्रदेशको धनगढीमा अहिले ५० शय्याको आयुर्वेद अस्पताल सञ्चालनमा रहेको छ । नगरप्रमुख रणबहादुर महराले अस्पताल निर्माणका लागि जग्गा पहिचानको कार्य भइसकेकाले छिट्टै जग्गा प्राप्ति हुने बताए ।
‘जग्गा प्राप्तिका लागि प्रक्रिया अगाडि बढाइएको छ’, नगरप्रमुख महराले भने, ‘जग्गा प्राप्तिसँगै निर्माणकार्यका लागि आयुर्वेद विभागलाई गुहार्छौँ ।’ आयुर्वेद अस्पताललाई प्रतिष्ठानका रूपमा सञ्चालन गर्ने विभागको योजना रहेको छ ।
आयुर्वेद अस्पतालमा ३० चिकित्सकसहित सय जना कर्मचारी कार्यरत रहने बताइएको छ । अस्पताल परिसरमा जडीबुटी उत्पादन, अनुसन्धानसँगै नसर्ने रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गर्ने व्यवस्था हुनेछ ।
आयुर्वेद विभागको उच्चस्तरीय टोलीले केही दिनअघि अस्पताल निर्माण हुने जग्गाको निरीक्षणको कार्य गरेको छ । टोलीले अस्पताल बनाउनका लागि जग्गा उपयुक्त रहेको ठहर गरेको नगरपालिकाका कर्मचारीको भनाइ रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij