वेबटिभी खबर
दाङ । पछिल्लो समय बढे्को अत्यधिक गर्मीका कारण दाङका इनार सुक्न थालेपछि पानीको समस्या भएको छ । गाउँमा पानीको मुख्य स्रोत इनार, कुवा रहेकामा गर्मीका कारण इनार र कुवामा पानी सुक्न थालेको हुन ।
‘जेठको पहिलो सातादेखि नै धाराबाट खानेपानी झर्न छाडेको छ’, घोराही-९ की मदा गौतमले भने, ‘यस वर्ष खाने पानीको अभाव बढ्दो छ । गाउँमा पानी खान नपाएर काकाकूल भइएला जस्तो छ ।’
उनका अनुसार गाउँका धेरै जसोका इनार सुकेका छन । रातभरी इनारमा जम्मा भएको चार, पाँच गाग्री पानी गाईवस्तुका साथै मानिसका लागि पुराउनुपर्ने बाध्यता रहेको गौतमको भनाइ छ ।
‘वडा नं ६, ८, ९ र १० मा पानीको मुख्य स्रोत धारा, इनार र कुवा हुन् । अहिले सबै स्रोत सुक्न थालेपछि खानेपानीको हाहाकार मच्चिएको छ’, गौतमले भने । वैशाख मध्यपछि पानीका मुहान सुक्दै गएका भन्दै जेठ लागेपछि पानीको समस्या झन बढे्को छ ।
तराईमा वैशाख, जेठलाई अत्यधिक गर्मी हुने समयका रूपमा लिइन्छ । हरेक वर्ष यस समयमा पानीको समस्या हुने गरेको भए पनि यस वर्ष भने पानीको समस्या जटिल बन्ने संकेत देखिएको यहाँका स्थानीय बताउँछन् ।
इनार एकपछि अर्को सुक्दै गएका छन । तल्लो भेगका बस्तीमा खानेपानीका लागि प्रयोग हुँदै आएका पानीका स्रोत सुकेर समस्या बढेको घोराही-७ सौडियारकी सुदा शर्माले बताइन् ।
‘यहाँ १० वर्ष पहिलेका इनार सबै सुकीसके, पछि खनिएका इनारमा पनि अब पानी भर्न नसकिने अवस्थामा पुगेका छन्’, शर्माले भनिन्, ‘बर्सेनि इनारमा पानीको सतह गहिरिँदै जाँदा खानेपानीको समस्या झनझन बढ्दै गएको छ ।’
लामो खडेरीले खानेपानीका सबै मुहान र स्रोत सुक्न थालेपछि नगर क्षेत्रका ३० भन्दा बढी बस्तीमा खानेपानीको हाहाकार मच्चिएको शर्माको भनाइ छ । उनका अनुसार यसपाली हिउँदे वर्षा नहुँदा पानीका मुहान सुकेका हुन ।
खाने पानीका लागि अन्य विकल्प नभएका कारण पानीको समस्या भएको स्थानीयको भनाइ छ । हिउँदे वर्षा नहुँदा खानेपानीका साथै खेती गर्न समेत नपाइएकामा स्थानीय चिन्तित छन ।
सुक्खायाममा खेतीका लागि सिँचाइका साथै खानेपानीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सम्बद्ध पक्ष सधैँ उदासिन रहँदै आएकाले यहाँका स्थानीयले सधै पानीको समस्या झेल्नु परेको शर्माको भनाइ थियो ।
घोराही उपमहानगरपालिकामा १८ हजार ५३ परिवार अझै कुवाको भरमा छन । तुलसीपुर उपमहानगरपालिकामा कुवा र खोलाकै पानीको भरमा १७ हजार चार सय ५४ परिवार छन । लमही नगरपालिकामा रहेका १३ हजार चार सय ५८ परिवारमध्ये ह्याण्डपम्प, कुवा र खोलाको पानीको भरमा छ हजार तीन सय ८४ परिवार छन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij