एजेन्सी
नयाँ दिल्ली । भारतमा नयाँ बनेको संघीय संसद भवनको उद्घाटनको विषयलाई लिएर विपक्षी दलले तीव्र आक्रोस प्रकट गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संसद भवनको आइतबार उद्घाटन गर्दा प्रमुख विपक्षी दललगायतका अनसन्तुष्ट दलहरु अनुपस्थित भए ।
कांग्रेस आई, राजद, आम जनता पार्टी, तृणमुल कांग्रेसले उद्घाटन समारोह बहिष्कार मात्र गरेनन, प्रधानमन्त्री मोदीको तानाशाही प्रवृत्ति भन्दै आलोचना पनि गरे । संसद भवन उद्घाटनमा राष्ट्रपति द्रौपदी मुर्मुलाई नबोलाइनुलाई विपक्षी दलले विरोधको अस्त्र बनाएको छ । संसदीय परम्परालाई प्रधानमन्त्री मोदीले पालना नगरेको र आफू निरंकुश बन्न खोजेको विपक्षी दलको आरोप छ ।
राष्ट्रपति दलित, आदीवासी भएकै कारण उनीबाट संसद भवन उद्घाटन नगराइएको भन्दै कांग्रेस आईका नेता राहुल गान्धीले दलीत र आदीवासीप्रति भएकाले सत्तारुढ भारतीय जनता पार्टी (विजेपी)को दृष्टिकोण स्पष्ट भएको प्रतिक्रिया दिए ।
विपक्षी दलहरुले विज्ञप्तिमा भनेका छन्, ‘राष्ट्रपति द्रौपदी मुर्मुलाई पूर्णतया बाइपास गरी नयाँ संसद भवनको उद्घाटन गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीको निर्णय लोकतन्त्रको घोर अपमान मात्र होइन, लोकतन्त्रमाथि सिधा हमला हो । यसले समावेसीताको भावनालाई ठेस पुर्याउँछ ।’
भारतले तीन वर्षअघि नयाँ संसद भवनको शिलान्यास गरेको थियो । शिलान्यास कार्यक्रममा पनि तत्कालिन राष्ट्रपतिलाई नबोलाइएको प्रसग पनि विपक्षी दलले उठाएका छन् । उक्त संसद भवन बनाउन भारु ९७० करोड खर्च भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । नयाँ भवन सुविधा सम्पन्न र बढी मानिस अटाउने भव्य बनाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij