Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

सन्दकपुरको पानी इलाम बजारमा 

सन्दकपुरको पानी इलाम बजारमा 

  • 187
    SHARES
  • सन्दकपुरको पानी इलाम बजारमा 

    इलाम । इलाम बजारमा सञ्चालित ‘इलाम बजार तेस्रो शहरी खानेपानी तथा सरसफाई आयोजना’को काम सम्पन्न भएको छ ।

    आयोजना सम्पन्न भएसँगै केही समयअघिदेखि परीक्षणका रूपमा इलाम बजारमा खानेपानी वितरण हुँदै आएको थियो । काम सम्पन्न भएपनि २०२४ सम्म निर्माण कम्पनीले नै यसको मर्मतसम्भारको काम गर्नुपर्ने जनाइएको छ।

    नगर विकास कोष, इलाम नगरपालिका र इलाम खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबीच सम्झौता भएर चार वर्षअघि काम सुरु भएको थियो ।

    आयोजनाको काम रमण कन्ट्रक्सन कम्पनीले ५७ करोड ९५ लाखमा ठेक्का सम्झौता गरेर काम अगाडि बढाएको थियो ।

    एसियाली विकास बैंक (एडीबी)को आर्थिक सहयोगमा खानेपानी आयोजना सञ्चालन भएको हो । जुन आयोजना जिल्लाकै अहिलेसम्मकै ठूलो खानेपानी आयोजना हो ।

    पाँच प्रतिशत स्थानीय उपभोक्ताको लागत सहभागिता रहेको छ । सुरुमा स्थानीय उपभोक्ताले १५ हजार दुई सय रकम बुझाएका थिए । यसमा इलाम नगरपालिकाले २५ प्रतिशत नगर विकास कोषसँग ऋण जमानत बसेको छ ।

    खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका चारवटा खोलाको मुहानबाट पानी ल्याइएको उपभोक्ता समितिका अध्यक्ष केदार थापाले जानकारी दिए ।

    आयोजनाबाट सदरमुकाममा प्रतिसेकेन्ड करिब ४३ लिटर पानी आइरहेको छ । आयोजनाका लागि सदरमुकामबाट करिब ३२ किलोमिटरको उत्तरी क्षेत्रमा पर्ने सन्दकपुर गाउँपालिकाको मुहानबाट पानी ल्याइएको हो ।

    आयोजनाअन्तर्गत सुरुमा दुई हजार आठ सय ७७ घरमा पानी वितरण गर्ने लक्ष्य लिइएको थियो । पछि थप भएर तीन हजार तीन सय ४४ घरमा आयोजनामार्फत नै खानेपानी वितरण भएको छ ।

    पुनः तीन सय बढी उपभोक्ताको सङ्ख्या बढेकाले सो काम हाल भइरहेको बताइएको छ । पछि रकम जम्मा गर्ने उपभोक्ताको घर–घरमा समेत धारा जोड्ने काम भइरहेको जनाइएको छ ।

    हालसमेत दैनिक दुईपटक पानी वितरण गरिँदै आइएको निर्माण कम्पनीका इञ्जीनियर कपिलदेव यादवले बताए ।

    हाल कतिपय स्थानमा पानी वितरणमा समस्या उत्पन्न भइरहेको भएपनि यसलाई आफूहरूले मर्मतको काम गरिरहेको उनको भनाइ छ ।

    गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते र मेवाखोलाबाट १०–१० तथा सुम्बेकको भाँडीखोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा पानी आपूर्ति गरिँदै छ ।

    उपभोक्तालाई नयाँ मिटर, १२ मिटर पाइप र धारा जडान खर्च आयोजनाको तर्फबाट व्यवस्थापन गरिएको छ ।निर्माण सम्पन्न भएपछि सो आयोजनाको शनिबार अनुगमनसमेत गरिएको छ ।

    जिल्लास्थित राजनीतिक दल, प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी तथा उपभोक्ता समितिका पदाधिकारीको उपस्थिति रहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij