Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

डेंगुको संक्रमणबाट जोगिन आग्रह

डेंगुको संक्रमणबाट जोगिन आग्रह

  • 266
    SHARES
  • डेंगुको संक्रमणबाट जोगिन आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेकाले डेंगुको संक्रमणबाट जोगिन आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको संख्या बढ्ने भएकाले मन्त्रालयले डेंगु संक्रमणबाट जोगिन आग्रह गरेको हो ।

    मन्त्रालयले एक सूचना जारी गर्दै डेंगुको सङ्क्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भन्दै सधैँ झूल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ ।

    यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिनसमेत आग्रह गरेको छ ।

    ‘पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुल लार्भा भएर निस्कन्छ र वयस्क लार्भा लामखुट्टे बन्छ’, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले भने ।

    उनले अहिले पानी परिरहेकाले सचेत रहन सबैलाई आग्रह गरे । ‘दैनिक पानी परिरहेको छ । पानी जम्मा भई लामखुट्टेले फुल पार्दछ’, डा.दाहालले भने, ‘सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ । डेंगुको सङ्क्रमणबाट बच्न सरसफाई गर्न आवश्यक छ ।’

    रोग नियन्त्रण शाखाका प्रमुख डा.दाहालका अनुसार सन् २०२२ सम्ममा ५४ हजार छ सय ३० जनामा डेंगु देखिएकामा ८८ जनाको मृत्यु भएको थियो । गत पुस १५ देखि हालसम्म सात सय एक जनामा डेंगुको सङ्क्रमण देखिएको छ ।

    मन्त्रालयले हरेक शुक्रबार डेंगु विरुद्धका अभियान सञ्चालन गर्न पनि आग्रह गरेको छ । मन्त्रालयले हरेक शुक्रबार बिहान साढे १० बजे सबै कर्मचारी सहभागी भई सरकारी तथा सार्वजनिक कार्यालय हाताभित्र र वरिपरि सरसफाई अभियान सञ्चालन गर्न आग्रह गरेको हो।

    सामान्य प्रकारको डेंगुमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि जस्ता लक्षण देखा पर्दछन् ।

    नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो । २००५ मा भने डेंगुका बिरामी देखिएनन् । त्यसपछि २००६ देखि डेंगुको सङ्क्रमण देखिँदै आएको छ ।

  • सम्बन्धित विषय:

  • # डेंगु

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij