Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

अभियान सञ्चालनपछि प्रहरीले पायो अनुसन्धानमा सफलता

अभियान सञ्चालनपछि प्रहरीले पायो अनुसन्धानमा सफलता

  • फाल्गुण १९, २०७७ बुधवार ०७:३७ बजे
  • 798
    SHARES
  • अभियान सञ्चालनपछि प्रहरीले पायो अनुसन्धानमा सफलता

    इलाम । रोङ गाउँपालिका-२ बस्ने २८ वर्षीय को प्रितम राई पाँच वर्षपछि प्रहरीको पञ्जामा परे । जबर्जस्ती करणीका दोषी राई अदालतको फैसला आउनु अघिदेखि नै फरार थिए । 

    विसं २०७२ जेठ २१ गते इलाम जिल्ला अदालतबाट पाँच वर्षअघि उनलाई पाँच वर्षको सजाय सुनाइएको थियो तर दोषी फरार रहेपछि प्रहरी खोज्ने क्रममा थियो । 

    यही फागुन १२ गते राई सुनसरीको धरानमा लुकेको अवस्थामा पक्राउ परे । इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट देउराली धरानसँग समन्वय गरेर जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ राईलाई गरेको हो । राईलाई अहिले कारागार चलान गरिसकिएको छ । 

    यस्तै केही महिनाअघि झापा जिल्ला अनारमनी नगरपालिका-६ बाट ५४ वर्षीय कृष्णबहादुर मगर पक्राउ परे । सवारी ज्यान मुद्दामा फरार मगरलाई इलाम जिल्ला अदालतले २०७० साल मंसीर ८ गते एक वर्ष एक महिना १५ दिन कैद तोकेको थियो तर दोषी फरार थिए । अहिले मगर पनि कारागारमा सजाय भुक्तान गरिरहेका छन् ।

    यी मात्र होइन विगतमा फरार रहेका अभियुक्त र दोषी यस पटक धमाधम पक्राउ परिरहेका छन् । प्रहरीले फैसला कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने अभियान चलाएपछि फरार व्यक्ति पक्राउ परेका हुन् । 

    प्रहरीले वडास्तरसम्म सञ्जाल बनाएर अनुसन्धान गरिरहेको छ । विगतमा पनि फरार व्यक्ति पक्राउ पर्थे तर यस वर्ष भने ठूलै सङ्ख्यामा पक्राउ गरिँदैछ । यसले प्रहरीप्रति जनताको विश्वसनीयता बढेको छ ।
     
    चालु आर्थिक वर्षको हालसम्म जिल्लाका विभिन्न क्षेत्रबाट २४ फरार व्यक्ति पक्राउ परेका छन् । प्रहरीको कार्यसम्पादन सम्झौतामा यो वर्ष इलाम प्रहरीले २४ फरार व्यक्ति पक्राउ गर्नुपर्ने छ । 

    त्यो सम्झौता सात महिनाको अवधिमै इलाम प्रहरीले पूरा गरिसकेको छ तर अब शतप्रतिशत लक्ष्य हासिल गर्ने अभियानमा इलाम प्रहरी लागेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक नवीन राईले बताए । 

    जिल्ला अदालतबाट इलाम प्रहरीलाई ३९७ फरार अभियुक्त रहेको लगत प्राप्त भए पनि त्यो तथ्याङ्क अद्यावधिक नभएकाले अब जिल्लामा झण्डै ३०० को हाराहारीमा फरार अभियुक्त रहेको प्रहरीले जनाएको छ । 

    फरार रहेका उनीहरुको खोजतलासलाई तीव्रता बनाएको प्रहरी निरीक्षक राईको भनाइ छ । प्रहरीको तथ्याङ्कमा जिल्लामा सबैभन्दा बढी वन मुद्दाका १११, फौजदारी मुद्दाका २६० र देवानी मुद्दाका २६ जना फरार अभियुक्तको सूचीमा रहेका छन् । 

    तीमध्ये चालु आर्थिक वर्षमा पक्राउ परेकामध्ये जबर्जस्ती करणी, कर्तव्य ज्यान, वन, बहुविवाह, कुटपिटका मुद्दा बढी छन् ।

    अदालतबाट फैसला सुनाएपछि दोषी ठहर भई फरार रहेकालाई ढिलै भए पनि कानूनी दायरामा ल्याएर पीडितलाई न्याय तथा पीडकलाई सजाय दिलाइछाड्ने दृढताका साथ प्रहरीले फरार अभियुक्त पक्राउ अभियान नै चलाएर पक्राउ गर्दै आएको प्रहरीको भनाइ छ ।
     
     यस्तै फरार अभियुक्त पक्राउ गरेबापत थप सेवा सुविधा पाउने भएकाले पनि प्रहरी फरार अभियुक्त पक्राउ अभियानमा सक्रिय भएर लागेको बताइएको छ ।

    कारागारमा समस्या

    प्रहरीलाई फरार व्यक्ति पक्राउ अभियानमा सफलता मिले पनि इलाम कारागारको व्यवस्थापनमा चुनौती थपिएको छ ।

    अपराध गरेकालाई कानूनी दायरामा ल्याउन कारागार लैजानु पर्ने हुन्छ । यद्यपि कैदीबन्दीहरू थपिँदा कारागारको व्यवस्थापनमा समस्या आउन थालेको इलाम कारागारका जेलर प्रदीप श्रेष्ठले बताए । 

    एक सय २० जना क्षमता रहेको इलाम कारागारमा अहिले २२ महिला र २३१ पुरुष कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा खानेपानी, शौचालयदेखि लिएर हरेक कुराको समस्या हुने गरेको जेलर श्रेष्ठको भनाइ छ । 

    एकातिर फरार व्यक्ति पक्राउ अभियानले इलाम कारागारमा कैदीबन्दी बढ्दो क्रममा छ भने अर्कोतर्फ अन्य जिल्लाका कैदीहरुलाई पनि सरुवा गरेर ल्याउँदा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको कारागार प्रशासनको भनाइ छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij