वेबटिभी खबर
काठमाडौं । एनएससी-काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले लगातार दोस्रो जित दर्ता गर्दै सेमिफाइनलमा पुगेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो ।
यस जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनल प्रवेश गर्न सफल भयो । नेपालले बंगलादेशलाई पहिलो सेट २५-१० ले आफ्नो पक्षमा पार्यो भने खेलको दोस्रो सेट २५-८ तथा तेस्रो सेट २५-९ ले विजयी भयो ।
समूह ‘ए’ को नेपालले ६ अंक जोडेको छ । समान ६ अंक नै जोडएको भारत पनि यस समूहबाट सेमिफाइनल प्रवेश गरेको छ । समान दुई खेलमा जितविहीन बंगलादेश र किर्गिस्तान भने समूह चरणबाट बाहिरिएका छन् । नेपालले पहिलो खेलमा किर्गिस्तानलाई पराजित गरेको थियो ।
अब नेपालले तेस्रो खेलमा बुधबार भारतको सामना गर्नेछ । भारत र नेपालको खेलबाट समूहको विजेता र उपविजेताको टुंगा लाग्नेछ ।
राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij