वेबटिभी खबर
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-८ धारापानी गाउँमा बस्दै आएका साईमले धामीलाई खानेपानीकै चिन्ता छ । जेठको बढदो गर्मीसँगै खोलामा पानी सुक्दै गएपछि पानीको जोहो गर्न उनलाई हम्मेहम्मे परेको छ ।
‘गर्मीका बेला खोला सुक्दा पानी खोज्दै जानुपर्छ’, धामीले भने, ‘बर्सातका बेला धमिलो पानी बाध्य भएर पिउनुपर्छ, पानीको अर्को विकल्प नहुँदा ५६ वर्षदेखि खोलाकै पानी प्रयोगमा ल्याउँदै आएका छौँ ।’
चुरेफेदीको धारापानी गाउँमा २२ परिवारको बसोवास रहेको छ । २०२४ साल अघिदेखि बस्ती बसेको धारापानी गाउँका बासिन्दाले खानेपानीका रूपमा खोलाको पानी प्रयोग गर्दै आएका छन ।
खोलाको पानी पिउने, लुगा धुने र गाईबस्तुलाई खुवाउने कार्य हुँदै आएको छ । बाध्य भएर धारापानी खोलाको पानी पिउँदै आएको बालाराम गौतमले बताए ।
‘गर्मीका बेला चुरे क्षेत्र भएर बग्ने खोला सुक्ने गर्दछन्,’ गौतमले भने, ‘घरका एक जनाको काम पानी खोज्नमै बित्छ, हिउँदका बेला पानीको त्यति समस्या हुँदैन, बर्सातका बेला खोलाको धमिलो पानी थेग्राएर पिउनुपर्ने बाध्यता छ ।’
असुरक्षित पानी पिउनुपर्ने भएकाले पानीजन्य रोगबाट स्थानिय बासिन्दा बिरामी हुने गरेको गौतमको भनाइ रहेको छ । खानेपानी आयोजना निर्माणका लागि पटक-पटक सम्बन्धित निकायमा पुगे पनि कार्य अगाडि बढ्न नसकेको उनले बताए ।
‘गत वर्ष वडा कार्यायले खानेपानी आयोजना निर्माणका लागि कार्य अगाडि बढाए पनि गाउँसम्म पानी पुग्न सकेन’, गौतमले भने, ‘थोरै बजेटले खानेपानी आयोजना निर्माणको कार्य अधुरो अपुरो रहेको छ ।’
धारापानी गाउँमा विद्युत् पनि पुग्न सकेको छैन । स साना बालबालिकालाई पढ्नका लागि बालविकास केन्द्र पनि रहेको छैन । गाउँमा विद्यालय नहुँदा पाँच किलोमिटर टाढाको विद्यालयमा बालबालिकाले पढ्नका लागि पैदल जानुपर्ने बाध्यता रहेको छ ।
चुरेको दुर्गममा रहेको बस्तीमा अभावै अभाव रहेको मोहनसिंह धामीले बताए । ‘बाह्य क्षेत्रमा व्यक्ति यस क्षेत्रको मनोरम दृश्य नियाल्नका लागि यहाँ पुग्ने गर्दछन’, धामीले भने, ‘यहाँ बसोबास गर्ने बासिन्दा आधारभूत सेवाबाट वञ्चित रहेका छन् ।’
वडाध्यक्ष बहादुरसिंह महराले धारापानी गाउँका बासिन्दाका लागि खानेपानी, विद्युत्लगायतका आधारभूत सेवा उपलब्ध गराउनका लागि प्रतिबद्ध भएर लागेको बताए ।
‘केही महिनाभित्रै विद्युत् सेवा उपलब्ध गराउनका लागि कार्य अगाडि बढाएका छौँ’, वडाध्यक्ष महराले भने, ‘खानेपानी आयोजना सञ्चालनका लागि प्रदेश र संघ सरकारसँग माग गरेका छौँ, नगरपालिकाको थोरै बजेटले खानेपानी आयोजना सञ्चालन गर्न नसकिने भएकाले अन्य निकायलाई गुहारेका छौँ ।’
वर्षौंदेखि चलनभोग गर्दै आएका धारापानी गाउँका बासिन्दाको जग्गाको स्वामित्व प्रदान गर्नका लागि जग्गा नापजाँच प्रक्रिया अगाडि बढाइएको उनको भनाइ रहेको छ ।
धारापानी गाउँलाई नगरपालिकासँग जोडनका लागि सडक पूर्वाधारका कार्य अगाडि बढाइएको उनले उल्लेख गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij