वेबटिभी खबर
बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाभित्र विभिन्न रोगविरूद्धको खोप लगाउन छुटेका र बीचैमा खोप लगाउन छोडेका बालबालिकालाई खोप लगाउन थालिएको छ ।
‘खोज र खोप’ अभियान सञ्चालन गरेर नियमित खोप लगाउन थालिएको हो । उक्त अभियानअन्तर्गत नेपालगञ्जमा १९० जनालाई समेटिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजन शाहीले खोप लगाउन छुटेका बालबालिकालाई नियमित खोपमा समेट्ने बताए ।
उनले भने, ‘नेपालगञ्जमा प्रत्येक महिनाको ६ देखि ११ गतेसम्म नियमित खोप लगाइन्छ । खोप लगाउन छुटेका बालबालिकाको खोजी अभियान पनि सँगसँगै अघि बढाएका छौँ ।’
जनस्वास्थ्य निरीक्षक शाहीका अनुसार बीचैमा खोप लगाउन छोडेका २९४ मध्ये १३९ बालबालिकालाई खोप लगाइएको छ ।
अझै १५५ बालबालिकालाई खोप लगाउन बाँकी छ । नेपालगञ्जमा यसअघि गत वैशाख १५ गते बालबालिकालाई खोप लगाइएको थियो ।
‘खोज र खोप’ अभियान सञ्चालनका क्रममा नेपालगञ्जमा ६९२ बालबालिकाले बीचैमा खोप लगाउन छोडेको पाइएको थियो ।
उनले भने, ‘एक सय ७७ बालबालिकाले कुनै पनि खोप नलगाएको पाइएको थियो । घरधुरी सर्वेक्षण गरेर बीचैमा खोप लगाउन छोडेका, खोप नै नलगाएकाको तथ्यांक संकलन गर्ने काम भइरहेको छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij