वेबटिभी खबर
कञ्चनपुर । कञ्चनपुरमा कोरोना भाइरसविरूद्धको ‘बुस्टर डोज’ खोप अभियानका क्रममा यहाँ ३९ हजार २५८ महिला तथा पुरूषले मात्र खोप लगाएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप प्रमुख जनक कुँवरले यहाँ ‘बुस्टर डोज’को पहिलो र दोस्रो मात्रा लगाइएको जानकारी दिए ।
उनले भने, ‘नौवटै पालिकाका स्वास्थ्य संस्थाबाट कोरोनाविरूद्धको बुस्टर डोज लगाइयो । अहिलेसम्म चौथो खोप लगाइके फेरि पनि खोप आवश्यक भएकाले केन्द्रमा माग गरेका छौँ ।’
उनले खोप उपलब्ध भए आगामी जेठ दोस्रो सातापछि पुनः खोप अभियान सञ्चालन गर्ने योजना रहेको बताए । यहाँ बुस्टरको पहिलो मात्रा सो अभियानका क्रममा १३ हजार ७५८ जनाले मात्रै लगाएको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ ।
कोरोनाविरूद्धको खोप आइसकेपछि हालसम्म कञ्चनपुरमा ४ लाख ४५ हजार ४२ जनाले त्यसविरुद्धको खोप लगाइसकेका छन् ।
त्यसैगरी तीन लाख ६४ हजार ७८५ जनाले दोस्रो मात्रा लगाएका छन् भने दुई लाख १६ हजार ६६७ जनाले खोपको तेस्रो मात्रा लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
उनले भने, ‘भारतबाट आउनेको गड्डाचौकी नाकामा स्वास्थ्य जाँच भइरहेको भए पनि नाकामै खोप लगाउन अभियान स्थगन छ । केन्द्रबाट नियमित खोप नआउनु र छिट्टै म्याद गुज्रिने खालका खोप आएकाले नियमित लगाउन नाकामा नसकिएको हो ।’
उनले कोरोनाको पहिलो र दोस्रो लहरका बेला गड्डाचौकी नाकामै हेल्थ डेस्क सञ्चालन गरेर कोरोना जाँच र खोप अभियान चलाइएको जानकारी दिए ।
यहाँ खोप अभियानका क्रममा गत चैतमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती, स्वास्थ्यकर्मी र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई बुस्टर डोजका रूपमा खोप दिइएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij