याङगुन । म्यान्मारका सांसदले लोकतन्त्रको समर्थन गर्दै प्रदर्शन गरिरहेका आम नागरिकमाथि गोली हान्ने देशको सेनालाई ‘आतंकवादी संगठन’ भनेर घोषणा गरेका छन् ।
एक महिनाअगाडि सेनाले त्यहाँको सरकारलाई सत्ताबाट हटाएर आफ्नो नियन्त्रणमा लिएदेखि दिनहुँ प्रदर्शन जारी छ । प्रदर्शनलाई दबाउन सेनाले बल प्रयोग गर्दा २५ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ । सेनाले दमन गरिरहे पनि त्यहाँका जनताले प्रदर्शन गर्न छोडेका छैनन । म्यान्मारका सांसदले द स्टेट एडमिनिस्ट्रेशन काउन्सिललाई आतंकवादी समूह घोषित गरेका हुन् । आम जनतामाथि गोली चलाउने, कुटपिट गर्ने, पक्राउ गरेको आरोप सेनालाई लागेको छ ।
दक्षिणपूर्वी एशियाली देशका विदेश मन्त्रीहरु त्यहाँ उत्पन्न राजनीतिक संकटका बारेमा छलफल गर्न तयार भइरहेको समयमा प्रदर्शन झन हिंसात्मक भएको छ । म्यान्मारको बिग्रदो अवस्थाका बीच दक्षिण पूर्वी एशियाली राष्ट्रका संगठनले एक विशेष बैठक प्रस्तावित गरेका छन् ।
सेनाको नियन्त्रणमा रहेका नेतालाई रिहाइ गर्न तथा सत्ताबाट बाहिरिन सेनालाई माग गर्दै आन्दोलन चर्किएको हो । म्यान्मारमा यस आन्दोलनका क्रममा २० भन्दा बढी पत्रकारलाई हिरासतमा लिइएको छ । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर बनाउन अश्रु ग्यास, गोली, पानीको फोहोरा आदिको प्रयोग गर्दै आएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij