Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

नवलपुरमा जग्गा नापीको कामले गति लिँदै

नवलपुरमा जग्गा नापीको कामले गति लिँदै

  • 250
    SHARES
  • नवलपुरमा जग्गा नापीको कामले गति लिँदै

    नवलपुर । भूमिसम्बन्धी समस्या समाधानका लागि नवलपरासी पूर्वनवलपुरमा जग्गा नापीको कामले गति लिन थालेको छ ।

    भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि यहाँ रहेका पालिकामा जग्गा नापीको कामले गति लिन थालेको हो ।

    नवलपुरका आठ वटा पालिकामध्ये हाल तीन वटा पालिकामा जग्गा नापीको काम भइरहेको छ ।

    भूमिसम्बन्धी समस्या समाधान आयोगका जिल्ला सदस्य राम तामाङका अनुसार कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकामा जग्गा नापीको काम जारी छ ।

    नवलपुरको  देवचुली नगरपालिका, गैँडाकोट नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा प्राप्त आवेदनमा अनलाइन ‘इन्ट्री’को काम चलिरहेको छ ।

    जसमध्ये देवचुली र गैँडाकोटको काम करिब अन्तिम चरणमा रहेकाले चाँडै जग्गा नापीको काम सुरु हुने जिल्ला सदस्य तामाङले बताए ।

    जिल्लाका पहाडी क्षेत्रमा पर्ने पालिका बौदीकाली र बुलिङटारमा भने भूमिसम्बन्धी समस्या समाधानको काम अघि बढाउने गरि सम्झौताको काम सकिएको र चाँडै रहे तापनि थप आवश्यक कार्य अघि बढ्ने बताए ।

    उलने भने, ‘करिबजसो सबै पालिकामा भूमिसम्बन्धी समस्या समाधानका लागि आवश्यक काम अघिबढेका छन् । केही पालिकामा नापीकै काम चलिरहेको छ, यही गतिमा काम अघि बढे केही वडामा अबको एक महिनामा पुर्जा दिन सकिन्छ ।’

    नवलपुरमा प्रारम्भिक तथ्यांकअनुसार करिब ३० हजार आवेदन परेका छन् । सबै पालिकाले प्राप्त आवेदनलाई अनलाइन इन्ट्रीको काम सके यकिन तथ्यांक आउने उनले बताए ।

    शुक्रबार मात्रै जिल्लाको कावासोती नगरपालिकाले जग्गा नापीको कामलाई अघि बढाएको छ । नगरपालिकाको वडा नम्बर १ र ४ बाट जग्गा नापीको काम सुरु भएको नगर प्रमुख विष्णुप्रसाद भुसालले बताए ।

    पालिकामा अघिल्लो आयोगका समयमा केही वडामा नापीको काम भएको थियो । हालको आयोगले सोही प्रक्रियालाई स्वामित्व लिएपछि नयाँ वडाबाट थप नापीको काम सुरु गरिएको नगर प्रमुख भुसालले बताए ।

    जग्गाको समस्या चाँडो समाधान गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

    वर्षौंदेखि भूमिहीन सुकुम्बासीका रुपमा रहेकालाई राज्यले एकपटकको लागि पुर्जा दिन लागेकाले यो कामलाई जतिसक्दो चाँडो सम्पन्न गरि भूमिहीन, सुकुम्बासीलाई जग्गाको मालिक बनाउने काममा सबैले सकारात्मक सहयोग गर्नुपर्ने उनले बताए ।

    कावासोती नगरपालिकाभित्र सात हजार ५६७ जनाले आवेदन दिएका छन् । नगरपालिकामा सात सय सात भूमिहीन दलित, १ हजार २५१ भूमिहीन सुकुम्बासी र ५ हजार ६०९ जनाअव्यवस्थित बसोबासीले आवेदन दिएका छन् ।

    जसमध्ये सबै कम्प्युटर इन्ट्रीको काम सकिएको छ । पालिकाभित्र यसअघि दुई हजार ८६ कित्ताको नापीसमेत सकिएको छ ।

    कावासोती नगरपालिका वडा नम्बर ३, ५, १०, १५ र १७ मा यसअघि नापी गरिएको छ तर यी वडामा पूर्णरुपमा नापीको काम सम्पन्न हुन बाँकी छ ।

    जग्गा नापीको काम सकिने वडामा क्रमशः फिल्डबुक तयार पार्ने, स्रेस्ता पुर्जा तयार पार्ने र पुर्जा बितरणको काम हुने आयोगका जिल्ला सदस्य तामाङले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij