वेबटिभी खबर
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी झोलुङ्गे पुल आज तीन घन्टाका लागि बन्द गरिएको छ । मरमतका लागि पुलबाट आवतजावत बन्द गरिएको दोधारा चाँदनी नगरपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रले भने, ‘झोलुङ्गे पुल मर्मतको काम हुन्छ, त्यसैले तीन घन्टा पुल भएर आवातजावत बन्द गरिएको छ ।’ दोधारा चाँदनी जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल जीर्ण हुँदै गएको छ ।
बेला-बेलामा पुल बन्द गरेर मर्मत काम हुने गरेको छ । एक महिना बन्द रहेको महाकाली नदीमाथिको निर्माणाधीन पक्की पुल आजदेखि पुनः सञ्चालनमा आउँदैछ ।
निर्माणको पुलको काम भएपछि आजदेखि पुनः आवागमन सञ्चालन गरिन लागिएको पुल निर्माण कम्पनीका कुमार श्रेष्ठ सिएफइसी जेभीका इन्जिनियर किशोर पाण्डेय जानकारी दिए ।
‘दुवैतर्फ विंगस वाल निर्माणको काम सकिएको छ, पुल भएर ओहोरदोहोर गर्न सकिन्छ’, पाण्डेयले भने, ‘विङ्गस वाल निर्माण गर्नुपर्ने भएकाले आवागमन बन्द गरेका थियौँ ।’
उनका अनुसार तत्काल पक्की पुलको एकतर्फको दुई लेन खुलाएर आवतजावत सञ्चालन गरिने छ । पुलको दुवैतर्फ पर्खाल निर्माण गर्नुपर्ने भएकाले ११ चैतदेखि पुल बन्द गरिएको थियो ।
पुल बन्द हुँदा दोधारा चाँदनीतर्फ जाने र बाहिरिने चारपाङ्ग्रे ठूला-साना सवारीसाधन शारदा ब्यारेज भएर जानुपर्ने बाध्यता रहेको थियो । पुलको दुवै छेउमा गहिरो खाल्डो खनेर पर्खाल निर्माण गरिएको छ ।
दुवैतर्फ पर्खाल निर्माण भएकाले पुलको काम झन्डै पूरा भएको छ । पर्खाल निर्माणसँगै पुलको पूर्वतर्फ पोखरीको काम पनि चलिरहेको इन्जिनियर किशोर पाण्डेय जानकारी दिए ।
उनका अनुसार पहुँच मार्गको काम पनि अन्तिम चरणमा रहेको छ । अहिले पुलको पूर्व भीमदत्त नगरपालिकातर्फको पोखरी निर्माणको काम भइरहेको छ । बर्खाअगावै उक्त पोखरीको काम सक्ने लक्ष्य रहेको निर्माण कम्पनीले जनाएको छ ।
बर्खापछि पश्चिमपट्टि दोधारा चाँदनीतर्फको पोखरी निर्माण हुनेछ । पुलको डिजाइनअनुसार दुवैतर्फ छ सय मिटर चौडा र दुई हजार ६ सय मिटर लम्बाइका दुई पोखरी निर्माण गर्नुपर्नेछ ।
निर्माणाधीन चार लेनको पक्की पुललाई दोधारा चाँदनीमा बन्ने भनेको सुक्खा बन्दरगाहको प्रमुख पूर्वाधारका रूपमा लिइएको छ । पक्की पुल निर्माणसँगै दोधारा चाँदनीका स्थानीयवासीलाई सदरमुकाम महेन्द्रनगरसँग जोडेको छ ।
पक्की पुल नहुँदा दोधारा चाँदनीका स्थानीयवासीले चारपाङ्ग्रे साधन शारदा ब्यारेजको प्रयोग गरेर भारतीय भूमिबाट लैजानुपर्ने बाध्यता थियो । महाकालीमा निर्माणाधीन पक्की पुल सञ्चालनमा आएपछि उनीहरूलाई सदरमुकाम ओहोरदोहोर गर्न सहज भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij