Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

ऋण लिएर वडामा खानेपानी पुर्‍याउने योजना साकार बन्दै

ऋण लिएर वडामा खानेपानी पुर्‍याउने योजना साकार बन्दै

  • 214
    SHARES
  • ऋण लिएर वडामा खानेपानी पुर्‍याउने योजना साकार बन्दै

    तनहुँ । तनहुँ जिल्लाको व्यास नगरपालिका-१ स्थित भादगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले ऋण लिएर वडावासीमा खानेपानी पुर्‍याउने योजना  साकार हुन लागेको छ ।

    नेपाल सरकारको ७० प्रतिशत ऋण र संस्थाको ३० प्रतिशत सहलगानीमा मादीनदी लिफ्ट खानेपानी आयोजनाको निर्माण कार्य अघि बढाइएको थियो । आयोजनाको समग्रमा हालसम्म ४५ प्रतिशत कार्य सम्पन्न भइसकेको संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए ।

    कूल २६ करोडको लागतमा निर्माण सम्पन्न हुने उक्त आयोजनाको ठेक्का पराजुली कन्स्ट्रक्सनले पाएको थियो । उक्त संस्थाले सानाठूला गरी चारवटा खानेपानी योजनाबाट वडावासीलाई पानी वितरण गर्दै आएपनि प्रशस्त मात्रामा खानेपानी आपूर्ति गर्न नसकेपछि मादीनदी लिफ्ट सहलगानीमा आयोजना सुरु गरेको हो ।

    भादगाउँ सहलगानी खानेपानी आयोजनाअन्तर्गत ५२ किमीमध्ये करिब ४२ किमी दूरीमा शाखा लाइनका खानेपानी पाइप बिच्छ्याइसकिएको छ । त्यसैगरी मुख्य पाइपलाइनको दुई दशमलव एक किमी दूरीमा पाइप पुर्ने कार्य सम्पन्न भइसकेको छ ।

    मादीनदी किनारमा सम्पवेलको निर्माण अन्तिम चरणमा पुगेको छ भने अर्को सम्पवेल खन्न सुरु गरिएको छ । यस्तै सेडिमेन्टेसन ट्यांकीको ९० र स्लो ट्यांकीको ४० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ ।

    २०८० भदौभित्र सम्पन्न गर्ने गरी उक्त आयोजनाको सम्झौतापश्चात् निर्माण कार्य तीव्ररूपमा अघि बढाइएको हो । व्यास नगरपालिका-४ को चुरेखोल्सीस्थित मादीनदी किनारबाट लिफ्ट गरी करिब पाँच किलोमिटर दूरीमा रहेको रिजर्भ ट्यांकीमा पानी संकलनपश्चात् वडावासीलाई पानी वितरण गरिने छ ।

    मुख्य खानेपानी ट्यांकी रहने अमिली भञ्ज्याङबाट शाखा ट्यांकी रहने भद्रुरसम्म मुख्य खानेपानीको पाइप पनि बिच्छ्याउन थालिएको संस्थाका अध्यक्ष चिजबहादुर दरैले बताए ।

    उक्त पम्प हाउसमा दुईवटा मोटरबाट प्रतिसेकेन्ड २६ लिटर पानी तान्न सकिन्छ । वर्षायाम सुरु हुनुअगावै मादीनदी किनारमा सम्पवेल भवन निर्माण गर्ने लक्ष्य राखिएको छ ।

    २०५६ मा उक्त खानेपानी संस्था स्थापना गरी ५२ वटा सार्वजनिक धाराबाट पानी दिन थालेको संस्थाले हालसम्म दुई हजार छ सय बढी निजी धारा जडान गरी पानी उपलब्ध गराउँदै आएको छ ।   

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij