वेबटिभी खबर
लमजुङ । गोरखा भूकम्पका कारण क्षतिग्रस्त यहाँका एक सय ६३ वटा विद्यालयको पुनःनिर्माण सकिएको छ ।
भूकम्पको आठ वर्षमा सबै विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको शिक्षा विकास तथा समन्वय एकाई लमजुङका प्रमुख वीरबहादुर गुरुङले जानकारी दिए ।
‘बेँसीश बाङ्गेको बाल ज्योति माध्यमिक र मध्यनेपाल नगरपालिकास्थित डढुवा दुच्या माध्यमिक विद्यालयमा चार कोठे विद्यालय भवन पुनःनिर्माण सम्पन्न भएसँगै जिल्लामा क्षतिग्रस्त सबै विद्यालयको भवन, शौचालय र खानेपानीको धारा पुनःनिर्माण सम्पन्न भएको छ’, प्रमुख गुरुङले भने ।
जिल्लामा ९१ वटा चार कोठे, १९ वटा तीन कोठे र दुई कोठे ५३ वटा विद्यालय भवन पुनःनिर्माण भएको हो । साथै ६९ वटा शौचालय, ३६ वटा खानेपानी धाराको पुनःनिर्माण सकिएको छ ।
जिल्लामा विद्यालय भवन, शौचालय र खानेपानी गरी दुई सय ६८ वटा कार्यक्रम लागू गरिएको थियो । पुनःनिर्माणको काम आर्थिक वर्ष २०७३/२०७४ बाट सुरु भएको थियो । तत्कालीन समयमा पाँच वर्षमा पुनःनिर्माण पूरा गर्ने लक्ष्य लिइएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij