वेबटिभी खबर
काठमाडौ । नेपालमा चार प्रतिशत बालबालिका खोपबाट वन्चित रहेका छन । उनीहरुले कुनै पनि खोप लगाउन पाएका छैनन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमका अनुसार विशेष गरी इटाभट्टा, कलकारखानामा काम गर्ने, बालबालिका बिरामी भएर, कोरोना भाइरसको समयमा लकडाउन र सूचना अभावले ती बालबालिका खोप लगाउनबाट वञ्चित हुनुपरेको हो ।
‘नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले खोपको पूर्ण मात्रा तथा १६ प्रतिशत बालबालिका कुनै न कुनै खोपबाट वन्चित छन्’, उनले भने ।
मन्त्रालयले खोप लगाउन छुटेका बालबालिकालाई खोजेर खोप लगाउनका लागि यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह सञ्चालन गर्दैछ ।
सो अवसरमा सरकारले खोप लगाउन छुटेका बालबालिकाको पहिचान गरी खोप प्रदान गर्ने छ । गौतमले ९५ प्रतिशत बालबालिकामा खोपको पहुँच पुर्याइने लक्ष्यसहित खोप अभियान सञ्चालन गरेको बताए ।
नेपालमा दादुरा र रुवेलाविरुद्ध दिइने खोपमा ९५ प्रतिशतको पहुँच पुर्याउन नसकिएको खोप शाखा प्रमुख डा गौतमले जानकारी दिए।
दादुरा र रुवेलाविरुद्धको खोप नौ महिना र १५ महिना दुई पटक दिइन्छ । नेपालमा अहिले १३ प्रकारका रोगविरुद्धको खोप रोग, अपाङ्गता र मृत्युबाट बचाउन बालबालिकालाई खोप दिइन्छ ।
खोप सप्ताहभर नियमित खोप प्रदान गरिने छ । वैशाख १५ र ३१ गते भने सबै खोप दिइने छ । परिवार कल्याण महाशाखाका निर्देशक डा विवेकुकुमार लालले खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाइ नेपाललाई पूर्ण खोप रहेको सुनिश्चित गर्नका लागि अभियान सञ्चालन गर्न लागेको जानकारी दिए ।
खोप लगाउन स्थानीय तह र विद्यालयसँग समन्वय गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij