Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

बैतडीका पाँच स्थानीय तहका सुकुम्बासीको तथ्यांक संकलन

बैतडीका पाँच स्थानीय तहका सुकुम्बासीको तथ्यांक संकलन

  • 278
    SHARES
  • बैतडीका पाँच स्थानीय तहका सुकुम्बासीको तथ्यांक संकलन

    बैतडी । बैतडीका पाँच स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलन गर्ने काम सम्पन्न भएको छ ।

    राष्ट्रिय भूमि आयोग जिल्ला समिति बैतडीका अध्यक्ष धर्मसिंह ऐर (कपिल)का अनुसार पञ्चेश्वर, सुर्नया, शिवनाथ गाउँपालिका, पुर्चौँडी र पाटन नगरपालिकामा तथ्यांक संकलन गर्ने काम सम्पन्न भएको हो ।

    तथ्यांक संकलन भएका यी पालिकाले लगत संकलनको काम सकेर आयोगमा तथ्यांक प्रविष्ट गरिसकेको जनाएको छ ।

    संकलित तथ्यांकमा पञ्चेश्वर गाउँपालिकामा दुई सय ४५ भूमिहीन दलित, छ परिवार भूमिहीन सुकुम्बासी र तीन सय ९६ परिवार अव्यवस्थित बसोबासी, सुर्नया गाउँपालिकामा सात परिवार भूमिहीन दलित, १६ परिवार भूमिहीन सुकुम्बासी र १९ परिवार अव्यवस्थित बसोबासी, शिवनाथ गाउँपालिकामा ४८ परिवार भूमिहीन दलित, सात परिवार भूमिहीन सुकुम्बासी र तीन सय ४६ परिवार अव्यवस्थित बसोबासी रहेका छन ।

    यस्तै पुर्चौंडी नगरपालिकामा ५७ परिवार भूमिहीन दलित, १६ परिवार भूमिहीन सुकुम्बासी र ४९ परिवार अव्यवस्थित बसोबासी, पाटन नगरपालिकामा ५७ परिवार भूमिहीन दलित, ६४ परिवार भूमिहीन सुकुम्बासी र एक सय ५१ परिवार अव्यवस्थित बसोबासी रहेका कार्यालयले जनाएको छ ।

    दश स्थानीय तह रहेको बैतडीका अन्य पालिकाले तथ्यांक संकलन गरेका भएपनि विवरण बुझाउन ढिलाइ गरिरहेका ऐरको भनाइ छ।

    जिल्लाका सबै स्थानीय तहलाई तथ्यांक संकलन गरिदिन पटक/पटक आग्रह गरिएको भएपनि चासो नदिएकोले ढिलाइ भएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति बैतडीका सदस्यसचिव एवम् नापी कार्यालय बैतडीका प्रमुख विवेक चन्दले बताए ।

    प्रमुख चन्दले भने, ‘दशवटै पालिकाले तथ्यांक संकलनका लागि भूमि आयोगसँग सम्झौता गरिसकेका भएपनि तथ्यांक संकलन गरेर नपठाउँदा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको व्यवस्थापनको काममा पनि समस्या भएको छ ।’

    स्थानीय तहहरूले संकलन गरेको तथ्यांक ‘इन्ट्री’ गरेर केन्द्रीय कार्यालय पठाइने र त्यसपछि लालपुर्जा वितरणको प्रक्रिया अगाडि बढ्ने राष्ट्रिय भूमि आयोग जिल्ला समिति बैतडीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij