वेबटिभी खबर
बाग्लुङ । सुक्खायाम सुरु भएसँगै बाग्लुङको करिब चार सय ५० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । पाँच राष्ट्रिय र १७ सामुदायिक वनमा आगलागी भएको हो ।
गत माघ १८ गते पहिलो पटक जिल्लाको तमानखोला गाउँपालिकाको खुंखानीमा पर्ने हापली छहरा मठुरे राष्ट्रिय वनमा आगलागी भएको थियो ।
चार दिनसम्म फैलिएको आगलागीले २०० हेक्टर वन क्षेत्र मासेको डिभिजन वन कार्यालय बाग्लुङको तथ्यांक छ ।
गतमाघदेखि सुरु भएको आगलागीको शृङ्खला रोकिएको छैन । बस्ती नजिकैका सामुदायिक तथा निजी आवादी वन क्षेत्र र सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी भइरहेको डिभिजन वन अधिकृत मुकुन्दप्रसाद अधिकारीले बताए ।
जानीजानी वा दुर्घटनावस बिहीबारसम्म बागलुङका २२ वनमा डढेलो लागेको तथ्यांक छ । केही तथ्यांक भने आउनै बाँकी रहेको उनले बताए ।
यस वर्ष सबैभन्दा धेरै आगलागी बाग्लुङ नगरपालिकाका वनमा भएको छ । बागलुङ नगरपालिकाका छ सामुदायिक वन र एक ठाउँमा राष्ट्रिय वन क्षेत्रमा आगलागी भएको हो ।
जैमिनी नगरपालिकाका पाँच, बडिगाडका तीन, काठेखोलाका दुई र तमानखोला, निसीखोला र बरेङ गाउँपालिका तथा ढोरपाटन नगरपालिकाको एक÷एक वनमा आगलागी भएको छ ।
जिल्लामा एक लाख पाँच हजार पाँच सय एक हेक्टर जमिनमा वन फैलिएको छ ।
जिल्लाभर ५२७ सामुदायिक वन ३३ हजार नौ सय नौ हेक्टरमा फैलिएका छन् भने, आठ दर्ता भएका निजी र बाँकी राष्ट्रिय वन क्षेत्र रहेको सहायक वन अधिकृत मदन कँडेलले बताए ।
गत वर्ष हिउँदमा वर्षा हुँदा बागलुङका वन क्षेत्रमा आगलागी भएको थिएन । एकाध वन क्षेत्रमा लागेको आगोसमेत समयमै स्थानीयले नियन्त्रणमा लिएका थिए ।
यस वर्ष हिउँद सुक्खा हुँदा अधिकांश वन क्षेत्र आगलागीको जोखिममा परेको वन अधिकृत अधिकारीले बताए । वर्षा नभएसम्म बाँकी रहेका वन क्षेत्रसमेत आगलागीको जोखिममा छन् ।
उनले भने, ‘गत वर्ष डढेलो नलागेकाले वनमा कुहिएका काठ र पात पतिंगर संकलन भएर बसेका थिए । थुप्रो लागेका काठ, पात र झाडीका कारण यो वर्ष वन थप जोखिममा परे, आगलागी भएको ठाउँमा नियन्त्रण गर्न कठिन भयो ।’
डढेलोको सम्भावित जोखिम भएका ठाउँमा सचेतनामूलक कार्यक्रम गर्ने, अग्निरेखा बनाउने तालिम, आगलागी भइहालेमा रोकथाम र नियन्त्रणका लागि सुरक्षा निकायलाई उपकरण उपलब्ध गराउनेलगायतका काम गरिएको उनले बताए ।
वनमा आगो लगाउनेलाई बिगो असुल, तीन वर्ष कैद सजाय, ६० हजार जरिवाना वा ती सबै सजाय हुने कानुनी व्यवस्था छ तर वनमा आगो लागउनेको पहिचान हुन सकेको छैन ।
जंगली जनावरबाट बच्न, वर्षायाममा मल हुने लोभलगायतका कारणबाट वनमा आगो लगाउने गरेको पाईन्छ ।
खरबारीमा डढेलो लगाएमा नयाँ घाँस राम्रो र बाक्लो पलाउँछ भनेर पनि आगो लगाउँदा नियन्त्रणभन्दा बाहिर गई क्षति हुने गरेको छ ।
वनजंगलमा आगलागी हुँदा बस्तीमा ल्याइएका पानीका पाइप पोलिएर कयौँ ठाउँमा खानेपानीको समस्या छ भने कतिपय जंगल क्षेत्रमा रहेका महत्वपूर्ण जडीबुटी जलेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij