Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

मैदान अभाव हुँदा खेल सञ्चालन गर्न समस्या

मैदान अभाव हुँदा खेल सञ्चालन गर्न समस्या

  • 315
    SHARES
  • मैदान अभाव हुँदा खेल सञ्चालन गर्न समस्या

    सिन्धुपाल्चोक । वैशाख २५ बाट सुरु हुन लागेको जिल्ला स्तरीय भलिबल प्रतियोगिताका लागि मेलम्ची बगरमा खेलमैदान तयार गर्न आयोजक व्यस्त छन ।

    राम श्रेष्ठको प्रायोजनमा यही वैशाख २५ गतेबाट सुरु हुने प्रतियोगितामा जिल्लाभित्रका खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् । मेलम्ची युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः दुई लाख, एक लाख र ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

    व्यक्तिगत लगानीमा ठुलो धनराशिको पुरस्कारसहित खेलाडीलाई खाना र बासको समेत व्यवस्थासहित हुन लागेको यो प्रतियोगिताका लागि मैदान भने अभाव छ ।

    मेलम्चीमा १४ करोडको लागतमा निमार्णाधीन रंगशाला २०७८ को बाढीले बगाएको थियो । हेलम्बुका पनि खोला आसपास सबै बगर भएपछि खेल मैदानको अभाव छ ।

    मेलम्ची र इन्द्रावतीमा आएको बाढीपछि जिल्लाको पश्चिमी भेगमा खेल गतिविधि बढेपनि राम्रो खेल मैदान अभावले खेल सञ्चालन गर्न असहज भएको  स्थानीय सागर श्रेष्ठले बताए।

    अभ्यासका लागि खेल मैदान नभए पनि सिन्धुपाल्चोकका खेलाडी तयार हुने क्रम भने उत्साहजनक छ । सिन्धुपाल्चोकले थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पदक हासिल गर्ने खेलाडी जन्माएको छ ।

    यी खेलाडीले जिल्ला र देशकै नाम उँचो बनाएका छन् । खेल जितेर फर्किंदा वाहवाही पाए पनि यी खेलाडीको संघर्ष भने सहज छैन । क्षमता भएपनि खेलकुदका गतिविधि बढाउन अभ्यास खेलका लागि उपयुक्त मैदान छैनन् ।

    स्थानीय तहले खेल क्षेत्रमा पर्याप्त बजेट नै विनियोजन गर्नुपर्ने स्थानीय खेलाडी माइते तामाङले बताए । जिल्लामा जुनसुकै खेलकुद प्रतियोगिता गर्न कुनै चाडपर्व वा मेला कुर्नुपर्ने र भइहाले पनि कहाँ सञ्चालन गर्ने भन्ने ठूलो चिन्ता आयोजकलाई भइरहन्छ ।

    जिल्ला तथा प्रदेशस्तरका खेलकुद प्रतियोगिता खेल मैदानका अभावले प्रायःजसो विद्यालयका साँघुरा चौरमा हुने गर्छन । जिल्लामा भलिबल, फुटबल, कराँते, क्रिकेट खेलको मोह बढ्दै गएको छ ।

    जिल्लामा खेलप्रतिको आकर्षण धेरै भएपनि खेलका पूर्वाधार अभाव हुँदा आयोजना हुने प्रतियोगिता खुम्चिँदै गइरहेको जिल्ला भलिबल संघका उपाध्यक्ष रामचन्द्र सापकोटाले जानकारी दिए ।

    खेलप्रतिको आकर्षण व्यापक भए पनि स्तरीय मैदान अभावले खेल प्रतिभा पलायन हुने स्थिति बनेको सापकोटाको भनाइ छ । जिल्लामा प्रतिभा धेरै भए पनि पूर्वाधार अभावमा पलायन हुने स्थिति बनेको फुटबल खेलाडी आशिष श्रेष्ठले बताए ।

    ‘म जस्ता फुटबल खेलाडी धेरै तयार हुन सक्छन्’, खेलाडी श्रेष्ठले भने, ‘यहाँ पूर्वाधार नभएकै कारण खेल प्रभावित भएको छ ।’

    नगरको १३ वटै वडामा खेल मैदान निर्माण अभियान रहेकोमा केही वडामा सुरु भइसकेको र केहीमा बजेट विनियोजनको तयारीमा रहेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए ।

    त्यस्तै मेलम्चीका वडामा क्षेत्र तथा नगरस्तरको विभिन्न खेल सञ्चालन गर्न सकिने मैदान निर्माण गर्ने कार्यपालिकाबाट निर्णय भइसकेको उनले बताए । यसका लागि नगरको मात्र बजेटले नपुग्ने हुँदा प्रदेश र केन्द्र सरकारसँग समन्वय गरिने उनको भनाइ छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij