वेबटिभी खबर
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-५ डडुवाको ज्योति आधारभूत विद्यालयका कक्षा-६ का विद्यार्थीले गत शैक्षिक सत्रमा पूरा पुस्तक बिना नै परीक्षामा सहभागी भएका थिए ।
यसपालि भने नयाँ शैक्षिक सत्रको सुरुवातमै पर्याप्त पुस्तक विद्यालयमा पुगिसकेको प्रअ मीनबहादुर खत्रीले बताए ।
उनले भने, ‘गत शैक्षिक सत्रमा कक्षा ६ का विद्यार्थीले अंग्रेजी विषयको पुस्तक बिना नै परीक्षा दिनुपरेको थियो । नयाँ शैक्षिक सत्रमा भने भर्ना अभियानसँगै विद्यार्थीको हातहातमा पुस्तक वितरण गर्ने तयारीमा छौँ ।’
ज्योति आधारभूत मात्र नभएर म्याग्दीका २५० मध्ये आइतबारसम्म ७० प्रतिशत सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्रको पुस्तक पुगिसकेको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका जिल्ला अध्यक्ष नवराज पौडेलले शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहको शिक्षा शाखासँग समन्वय गरेर बेनीमा बिक्री केन्द्र स्थापना गरेर पुस्तक बिक्री वितरणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।
उनले भने, ‘टाढाका विद्यालयलाई प्राथमिकता दिएर गत चैत २८ गतेदेखि पुस्तक वितरण सुरु गरेका थियौँ । धवलागिरि, मालिका, रघुगंगा, अन्नपूर्ण र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको ७० प्रतिशत विद्यालयमा पुस्तक पुगिसकेको छ ।’
जनक शिक्षा सामग्री लिमिटेडको पोखरास्थित बिक्री केन्द्रबाट म्याग्दीका व्यवसायीले आयात गरेको पुस्तक विद्यालयलाई पालिकाअनुसार समय तालिका बनाएर बेनीबाट वितरण गरिएको हो ।
शिक्षा विकास तथा समन्वय एकाइको तथ्यांकका आधारमा प्रतिकक्षा १ हजार चार सयदेखि एक हजार नौ सय सेटको हाराहारीमा पुस्तक आयात गरिएको थियो ।
म्याग्दीमा वार्षिक रु एक करोड मूल्य बराबरको पुस्तक खपत हुन्छ । अन्नपूर्ण गाउँपालिका-३ दानाको ज्ञानप्रकाश माविका प्रअ शान्तबहादुर नेपालीले आइतबारदेखि विद्यालय भर्नासँगै विद्यार्थीलाई हातहातमा पुस्तक वितरण गर्न थालिएको बताए ।
बेनी नगरपालिका-१० को विद्योदय आधारभूतका प्रअ गोविन्द पौडेलले समयमै विद्यार्थीको हातमा पुस्तक उपलब्ध भएपछि सिकाइ उपलब्धि वृद्धिमा सहयोग पुग्ने बताए ।
उनले भने, ‘विद्यार्थीसँग पुस्तक भयो भने स्वअध्ययन गर्न पाउँछन् । शिक्षकले पढाएको सहजै बुझ्न र सम्झन सजिलो हुन्छ ।’
यसपालि निजी छापाखानामा पनि पुस्तक छपाई भएकाले पठनपाठन सुरु हुनुअघि नै विद्यार्थीको हातमा पुस्तक पुर्याउन सफल भएको बेनीको प्रकाश माविका शिक्षक शिव पौडेलले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij