वेबटिभी खबर
बाग्लुङ । बाग्लुङ जिल्लाको दशवटा स्थानीय तहका ८५ वडामध्ये ३७ वडा पहिरोको उच्च जोखिममा र ३१ वडा मध्यम जोखिममा परेका छन ।
मनसुनजन्य प्रकोपको स्तरीकरण गर्दा बाग्लुङ जिल्ला पहिरोको उच्च जोखिममा पर्छ । जिल्ला विपद् व्यवस्थापन समितिले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने सिलसिलामा प्रकोपको स्तरीकरण गर्दा बाग्लुङ पहिरोको प्रकोपमा पहिलो नम्बरमा परेको हो ।
पहिराकै कारण हरेक वर्ष यहाँका नागरिकले ज्यान गुमाउनु परेको छ । जिल्लाका दस स्थानीय तहबाट संकलन गरिएको तथ्यांक तथा जिल्ला प्रशासन कार्यालयमा प्राकृतिक प्रकोपका लागि वितरण गरिएको राहतको विवरणअनुसार पहिराको प्रकोपबाट अधिकांश स्थानीय तहका वडा समस्यामा परेको पाइन्छ ।
जिल्लाका कूल ८५ वडामध्ये पहिरोको प्रकोपमा ३७ वटा वडा उच्च जोखिम, ३१ वडा मध्यम जोखिम र १७ वडा निम्न जोखिमको सूचीमा छन । मनसुनजन्य आपत्कालीन कार्ययोजना-२०७९ मा उल्लेख भएअनुसार पालिकाका मुकाम रहेका वडाहरूसमेत पहिरोको जोखिममा छन ।
जोखिममा सामुदायिक विद्यालयसमेत समावेश छन । यस वर्ष २० सामुदायिक विद्यालय भवनमा पहिरोले असर पार्नसक्ने जिल्ला विपद् व्यवस्थापन समितिको अनुमान छ ।सबै स्थानीय तहमा व्यवस्थापन पूर्वको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिए ।
मनसुन सक्रिय हुनुपहिले नै विपत् पूर्व, विपत् भएको समय र विपत्पश्चात् गर्नुपर्ने कामका बारेमा सरोकारवाला निकायसँग समन्वय र सांगठनिक जिम्मेवारी बाँडफाँड गरिएको जिल्ला अधिकारी श्रेष्ठले बताए ।
कालीगण्डकी, बडिगाड, दरमखोला, निसीखोला, भुजीखोला, तमानखोला, ठेउलेखोला, अँधेरीखोला, दरौँदीखोला, उत्तरगंगालगाएत खोला तथा नदी किनारका बस्तीहरू बाढीको जोखिममा छन ।
पहिरो प्रकोपका कारणले जिल्लाभर करिब ३० हजार व्यक्तिलाई असर पर्नसक्ने अनुमान गरिएको छ । पहिरोको प्रकोपबाट घरगोठमा क्षति पुग्न सक्ने, बालबालिका, वृद्धवृद्धा, गर्भवती, सुत्केरी, अपांग व्यक्ति, दलित र अति गरिबलाई बढी असर पर्ने विपत् प्रतीक्रिया तिकार्य योजनामा उल्लेख छ ।
यहाँका सबै खोला किनारका तटीय क्षेत्रहरू जोखिममा छन । कार्ययोजनाले उद्धार राहत तथा पुनःस्थापना र सचेतनाका लागि उपलब्ध साधन स्रोतको समेत तथ्यांक तयार गरेको छ ।
जिल्लाका अधिकांश बस्ती, सडक, भल तथा बाढीका कारण जोखिममा पर्ने स्थानीय तहको पूर्वानुमान छ । स्थानीय तहले गत वर्ष तयार गरेको बाढी पहिरो पीडितको तथ्यांक र यो वर्षको सम्भावित जोखिमको अवस्था हेरेर तथ्यांक तयार गरेको हो । रासस
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij