वेबटिभी खबर
हेटौँडा । हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरको १० स्थानीय तहका पशुहरूमा खोरेत रोग विरूद्धको खोप लगाउन सुरु भएको छ ।
संघीय र प्रदेश सरकारको आर्थिक र प्राविधिकसहित औषधी सहयोगमा १० वटै स्थानीय तहका पशुमा लाग्ने खोरेत रोगविरूद्ध खोप लगाउने कार्य सुरु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुरले जनाएको छ ।
कार्यालयका प्रमुख डा.व्रजकिशोर ठाकुरले खोप लगाउन ८४ जना भ्याक्सिनेटर नियुक्त गरी सम्बन्धित स्थानीय तहमा पठाइएको जानकारी दिए ।
स्थानीय पालिकाको मागअनुसार खोप वितरण गरिएको बताउँदै उनले दुर्गममा रहेको राक्सिराङ् गाउँपालिकाबाहेक नौवटा स्थानीय तहमा खोपसहित प्रविधिक पुगिसकेको र खोप लगाउने अभियान सुरु भएको बताए ।
हेटौँडा उपमहानगरपालिकामा रोग संक्रमण भएका तथा लक्षण देखिएका पशुका लागि १० हजार पाँच सय, वकैया गाउँपालिकाका लागि पाँच हजार, बाग्मती गाउँपालिकाका लागि तीन हजार खोप पठाइएको बताइएको छ ।
त्यसैगरी, कैलाश गाउँपालिकाका लागि एक हजार, थाहा नगरपालिकाका लागि पाँच हजार, मनहरि गाउँपालिका लागि सात हजार पाँच सय, भीमफेदी गाउँपालिका लागि तीन हजार, इन्द्रसरोवर गाउँपालिकाका लागि एक हजार पाँच सय, मकवानपुरगढी गाउँपालिकाका लागि आठ हजार पाँच सय खोप निःशुल्क रुपमा लगाउने कार्य सुरु भएको सो कार्यालयले जनाएको छ ।
तर राक्सिराङ् गाउँपालिकाका लागि एक हजार खोप पठाउनका लागि छुट्याए पनि हाल पठाउन नसकिएको र पछि पठाउने प्रमुख डा.ठाकुरले बताए ।
खासगरी गर्मीे मौसममा खोरेत रोग पशुमा लाग्ने गर्दछ । यस रोगबाट पशुको खुटा र मुखमा तथा छालामा घाउ हुने, फोका हुने, खान, बस्न र हिडँडुल गर्न समस्या हुने गर्दछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij