वेबटिभी खबर
रसुवा । गत असारको तेस्रो सातादेखि रोकिएको जमिनका कित्ताकाट खुलाउन रसुवाका पालिकाले पहल सुरु गरेका छन ।
यसलाई कार्यान्वयन गर्न यहाँका पाँच गाउँपालिकामध्ये पहिलो चरणमा उत्तरगयाले गृहकार्य अगाडि बढाएको हो । यसका लागि उसले सुझाव संकलन सम्पन्न गरेको छ ।
आवास क्षेत्र र कृषियोग्य जग्गाका विषयमा यकिन गरेर मात्र कित्ताकाट गराउन संघीय सरकारले सबै पालिकालाई पत्राचार गरेको थियो । उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले सुझाव संकलन कार्य सम्पन्न गरी निर्णयमा जाने अन्तिम तयारी भएको जानकारी दिए ।
भू-उपयोगको नीतिअनुरूप संकलित सुझाव र विज्ञको सिफारिसलाई आधार मानी यही चैत २५ गतेभित्र निर्णय लिइसक्ने अध्यक्ष अर्यालले बताए । कृषिका लागि दुई रोपनी र घडेरीका लागि साढे चारआनाभन्दा कम कित्ताकाट गर्न नपाइने भू-उपयोग नीतिले औँल्याएको छ ।
असारदेखि हालसम्म कित्ताकाट हुन नसकेकै कारण ३० लाखभन्दा बढी राजस्व घटेको मालपोत कार्यालयले जनाएको छ । कित्ताको रजिष्ट्रेशन, मरूवा नामसारी, बैंक-वित्तीय संस्थाको धितो बन्धकको कामबाहेक कित्ताकाटबाट गरिने रजिष्ट्रेशनकार्य रोकिएको मालपोत प्रमुख गणेश श्रेष्ठले बताए ।
नौकुण्ड गाउँपालिकाले जमिनको कित्ता नम्बरसहितको लगत संकलन सुरू गरेको अध्यक्ष नुर्पुसाङ्वो घलेको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij