वेबटिभी खबर
काठमाडाैं । पाटन बजारमा रहेका अनधिकृत संरचना पाटन नगरपालिकाले डोजर प्रयोग गरेर हटाउन थालेको छ । पाटन नमूना शहर क्षेत्रमा नयाँ सडक निर्माण गर्न अनाधिकृत संरचना हटाउन सुरु गरिएको नगरप्रमुख गौरीसिंह रावलले जानकारी दिए ।
नगरपालिकाले बजारबाट नयाँ बसपार्क जोड्ने सडक र विमानस्थल जोड्ने शाखा सडक निर्माण गर्न उक्त क्षेत्रमा बनेका संरचना हटाउन थालेको हो ।
उक्त क्षेत्र जोड्ने सडकको क्षेत्राधिकारभित्र पर्ने नगर विकास समितिको जमिनमा बनेका अस्थायी संरचना हटाउन थालिएको नगरप्रमुख रावलले बताए । सडक क्षेत्राधिकारभित्र पर्ने डेढ दर्जनभन्दा बढी संरचना हटाउन थालिएको छ ।
उनले भने, ‘अनधिकृत रुपमा बनेका संरचना हटाउन नगरपालिकाले गत पुसमै ३५ दिने सूचना जारी गरेको हो । उक्त सूचनाको अवज्ञा गरेपछि हामीले डोजर प्रयोग गरेर हटाउन थालेका हौँ । अब नयाँ शहरको कामले पनि गति लिने विश्वास गरेका छौँ ।’
सडक पाँच मिटरसम्मको चौडा निर्माण गरिन लागिएकाले अनधिकृत रुपमा बनेका संरचना हटाउने कार्य थालिएको हो । पाटन नयाँ शहर आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर रोहितराज भण्डारीका अनुसार सडक चौडा गर्न पाँच करोडको ठेक्का भइसकेको छ ।
सरकारले आर्थिक वर्ष २०६७/६८ मा मध्यपहाडी लोकमार्गअन्तर्गत १० शहरलाई नमूना शहरका रूपमा विकसित गर्ने निर्णय गरेको हो । तिनै १० नमूना शहरमध्ये १०औँ शहरका रूपमा पाटनलाई विकसित गर्ने निर्णय भएको थियो ।
यहाँ नयाँ शहरको काम भने कछुवा गतिमा रहेको छ । तोकिएको समयमै सरकारले विनियोजन गरेको बजेट कार्यान्वयन हुन् नसक्दा नयाँ शहर विकास कार्यालयको काम सोचेअनुरुप अघि बढ्न सकेको छैन ।
गत आवमा आधा बजेटसमेत खर्च नभएपछि चालु आवमा बजेट घटेर आएको छ । चालु आवमा १२ करोड ९२ लाख बजेट आएको कार्यालयले जनाएको छ ।
केही पूर्वाधार सम्पन्न भइसकेको भए पनि नमूना शहरको झल्को दिने ‘ल्यान्डपुलिङ’ अर्थात् जग्गा एकीकरणका लागि जग्गाधनीले जग्गा उपलब्ध नगराउँदा काम अघि बढ्न सकेको छैन ।
जग्गा एकीकरण प्रक्रियामा स्थानीयले योजना सम्पन्न हुँदासम्म नयाँ शहरी विकासको कार्यालयलाई लालपूर्जासहित जग्गा हस्तान्तरण गर्नुपर्ने हुन्छ ।
त्यस ठाउँमा नयाँ शहरी विकासको कार्यालयले उपयुक्त बसोबासका लागि घर, खानेपानी, खेल्ने चौर, विद्युतीकरणदेखि सुविधा सम्पन्न भौतिक संरचना बनाएर त्यसपछि ती जग्गाधनीलाई नै हस्तान्तरण गर्ने कार्यक्रम हो ।
नयाँ शहर आयोजनाको मुख्य कामका रुपमा रहेको जग्गा एकीकरणको काम अघि बढ्न नसकेको नयाँ शहरी विकास आयोजनाको कार्यालयले जनाएको छ ।
पाटन बजार क्षेत्र आसपासका खसरबाटा, लोर्खा, बिठ्ठेउडा लगायतका क्षेत्रमा ल्यान्डपुलिङका लागि जग्गा छनोट गरिएको भए पनि कृषियोग्य जमिन नदिने जग्गाधनीले बताएपछि उक्त काम रोकिएको छ ।
एक लाखभन्दा बढी मानिसको बसोबास गराउने र आधुनिक शहरको सुविधासहित व्यवस्थित शहर बनाउने निर्णय हुँदा पाटनवासी निकै खुसी भएका थिए ।
नमूना शहर बनाउने घोषणा भएको १२ वर्ष बितिसक्दासमेत विकास निर्माणका कामले खासै गति लिन नसकेकामा निरासा छाउँदै गएको स्थानीय दिनेश विष्टको भनाइ छ ।
उनले भने, ‘पाटन शहरको काम सोचेअनुसार अघि बढ्न नसकेको र विकास निर्माणका कामले समेत खासै गति लिन नसक्दा निरासा छाएको छ । अनधिकृत संरचना हटाउन थालेपछि कामले गति लिने आशा पलाएको छ ।’
पाटन प्राकृतिक हिसाबले रमणीय ठाउँ हो । यसको चारैतिर डाँडाकाँडा र बीचमा मैदानी फाँट रहेको खेत छ । ऐतिहासिक रुपमा पनि पाटनलाई देवता र असुरबीचको लडाइँ भएको ठाउँका रुपमा चिनिन्छ । देवता र असुरबीचको लडाइँ भएकाले बीचमा बग्ने नदीको नाम सुर्नया रहेको किंवदन्ती छ ।
यो ऐतिहासिक शहरलाई आधुनिक बनाउने काममा सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने पाटनका स्थानीयसमेत रहेका पाटन बहुमुखी क्याम्पसका प्रमुख उत्तम भण्डारीले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij