वेबटिभी खबर
काठमाडौं । गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक गौरवको आयोजनाअन्तर्गत पर्वतमा सञ्चालित सडक आयोजना निर्माणमा ढिलाइ भएको छ । उक्त योजना दुई वर्षदेखि निर्माणाधिन अवस्थामा छ ।
जलजला गाउँपालिका अन्तर्गत मिलनचोकबाट सल्यान घाहाखेत-धारापानी-ठोट्नेरी जोड्ने सडक हालसम्म अधुरै छ । ठेकेदार कम्पनीले समयमा काम नगर्दा सम्झौता अवधि सकिएको १८ महिना नाघिसक्दासमेत पनि कामले निरन्तरता पाउन सकेको छैन ।
सडक कालोपत्रको शिलान्यासपछि केही काम भए पनि विगत दुई वर्षदेखि ठेकेदार कम्पनीको रूपमा रहेको हिमदुङ एण्ड थोकर निर्माण सेवा सम्पर्कविहीन बनेको छ ।
कम्पनीले २०७६ मंसिरमा २८ करोड १३ लाखमा १० किलोमिटर सडक स्तरोन्नति र कालोपत्रको जिम्मा लिएको थियो । गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक सडक आयोजनाअन्तर्गतको सो सडक २०७८ मंसिरमा निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ ।
म्याद थप गरेर आगामी असारसम्मको सम्झौता कायम गरिए पनि अहिलेसम्म काम सुरु नभएपछि स्थानीयवासीले विरोध जनाएका छन् ।
स्थानीय राजु आचार्यले, ‘अहिलेसम्म काम गर्ने सुरसार नै छैन । निर्माण व्यवसायीलाई सम्पर्कमै ल्याउन सकिएको छैन । काम अघिबढाउन पूर्वाधार विकास कार्यालय र भौतिक योजना तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए पनि सुनुवाइ भएको छैन ।’
गाउँपालिका अध्यक्ष राजु आचार्यले पालिकाले पटक-पटक आग्रह गर्दासमेत सम्पर्कमा नआएको बताए । सडक निर्माणलाई अधकल्चो बनाएर छाडिएकाले बस्तीमा पहिराको जोखिम बढेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij