Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

मेलम्चीको पानी एक महिना नआउने 

मेलम्चीको पानी एक महिना नआउने 

  • 881
    SHARES
  • मेलम्चीको पानी एक महिना नआउने 

    काठमाडौ । सुरुङ खाली गरेर निरीक्षण हुन लागेकाले काठमाडौं उपत्यकामा झण्डै एक महिना मेलम्चीको पानी वितरण रोकिने भएको छ ।

    सुरुङ निरीक्षण सकेर कुनै समस्या नदेखिए पुनः पानी ल्याउँदा ३० देखि ४० दिनसम्म लाग्न सक्ने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।

    सुरुङ खाली गर्न १५ दिन र २७ किमी सुरुङको निरीक्षणका गर्न १० दिन जनाइएको छ । दुई वर्ष पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता हुँदा कार्यविधिमा सुरुङमा पानी भरेर पुनः खाली गराएर निरीक्षण गर्ने उल्लेख थियो । 

    कार्यविधिमा अन्तिम काम नै सुरुङ खाली गरेर समस्या नभएमा पुनः भरेपछि त्यो कार्ययोजना सफल हुने पन्तले जानकारी दिए ।
     
    झण्डै तीन महिना पहिले बहुप्रतिक्षित मेलम्चीको पानी पहिलो पटक काठमाडौं ल्याइएको थियो । अहिले अन्य समस्या भने देखिएको छैन । 

    आयोजनाको पहिलो चरणमा मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी गत फागुनदेखि नै काठमाडौं आउन थालेको हो । समितिले आयोजनाअन्तर्गत २७ किमी लम्बाइको सुरुङ, ‘हेडवर्क’ र सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्रको निर्माण गरेको थियो । सुरुङ र केन्द्र सम्पन्न भइसके पनि ‘हेडवर्क’ को अन्तिम काम भइरहेको आयोजनाले जनाएको छ । 

    मेलम्ची आयोजना सुरु भएको झण्डै दुई दशकपछि सम्पन्न भएको हो । सरकारले मेलम्चीकै दोस्रो खण्डका रुपमा याङ्ग्री र लार्के खोलाबाट पानी ल्याउन आवश्यक पूर्वाधारको निर्माण अघि बढाउँदैछ । हाल मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउने गरेकामा दैनिक थप ३४ करोड लिटर पानी आउने गरी सो निर्माण अघि बढाउन लागिएको हो । सरकारले आगामी आर्थिक वर्षको बजेटमा सो आयोजनाका लागि तीन अर्ब ५१ करोड विनियोजन गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij