वेबटिभी खबर
काठमाडौं । मानव अधिकार तथा शान्ति समाजको २६ औं स्थापना दिवसका अवसरमा १६ जिल्लामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बुधबार समाजका जिल्ला शाखाहरुको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
चितवन शाखाद्वारा आयोजित कार्यक्रममा २५, दाङ शाखाद्वारा आयोजित कार्यक्रममा १५ जनाले रक्तदान गरेको समाजले बताएको छ । दाङ शाखाले मेट्रो अस्पताल अस्वारलाई १ हजार लिटरको पानी ट्यांकी र कोरोना विशेष अस्पताल वेलझुण्डीलाई २ थान त्रिपाल सहयोग स्वरुप प्रदान गरेको छ ।
‘यसैगरी रुपन्देही शाखाले सृजनशील समाजद्वारा सञ्चालित बालगृहलाई खाद्यान्न सहयोग गर्नुका साथै प्रादेशिक अस्पतालमा कार्यरत र उपचाररतहरुलाई खाजा खुवाएको छ । शान्ति समाज काठमाण्डौ शाखाले तारकेश्वरस्थित नवजीवन परोपकार समाजलाई र कागेश्वरी मनोहरास्थित जेष्ठ नागरिक आश्रमलाई खाद्य सामग्री सहयोग गरेको छ,’ समाजद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘शान्ति समाज स्थापना दिवसको अवसरमा नुवाकोट शाखाले जेष्ठ नागरिक वृद्धाश्रम देविघाटलाई, पाल्पा शाखाले पाल्पाको नारायणस्थानमा श्रमिकहरुलाई, नवलपुर शाखाले गैंडाकोटको अपांग जीवन विकास संस्थालाई, तेह्रथुम शाखाले म्याङलुङ आश्रममा खाद्यसामग्री सहयोग गरेको छ भने सुर्खेत शाखाले वीरेन्द्रनगर नगरपालिकाले सञ्चालन गरेको कोभिड वार्डमा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ सामाग्री, बागलुङ शाखाले जिल्ला कारागार बागलुङमा मास्क र स्यानिटाइजर, सिरहा शाखाले लाहानमा स्वास्थ्य सामग्री वितरण गरेको छ ।’
यसैगरी कपिलवस्तु, तेह्रथुम, नवलपरासी (सुस्तापश्चिम), मोरङ, पाल्पा र झापा शाखाले कोभिड नियन्त्रणका लागि विभिन्न सामग्री प्रदान गरी, कोरोना संक्रमणले सिर्जित अफ्ट्यारो परिस्थितिमा रहेका विपन्न व्यक्तिलाई सहयोग र कोरोनाबाट बच्न सचेतना कार्यक्रम गरेको समाजले बताएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij