वेबटिभी खबर
खोटाङ । प्रदेश १ को नाम ‘कोशी’ राखिएको विरोधमा आह्वान गरिएको बन्दका कारण खोटाङमा यातायातका साधन ठप्प बनेको छ ।
गत फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखिएकोमा भर्त्सना गर्दै जनता समाजवादी पार्टी नेपाल, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, किरात राई यायोक्खा लगायतको सहकार्यमा आइतबार जिल्लाभर बन्द आह्वान गरिएको हो ।
पहिचानको आधारमा नामाकरण गराउनका लागि दबाब सिर्जना गर्न गठित प्रदेश १ पुनः नामाकरण संयुक्त संघर्ष समितिको आह्वानमा जिल्ला बन्द गरिएको जसपाका प्रदेश समिति सदस्य नेता नविन राईले बताए ।
संयुक्त बन्दका कारण जिल्लाबाट छुट्ने छोटो तथा लामो दूरीको सवारी साधन चल्न पाएका छैनन् । बन्दकर्ताले मोटरसाईकल समेत नियन्त्रणमा लिएर पार्किङ गराइरहेका छन ।
सवारी साधन चल्न नदिन बन्दकर्ता बिहान साढे तीन बजेदेखि दिक्तेलको किरातचोकमा सडकमा पुगेका थिए । बन्दकर्ता दिक्तेलको किरातचोक र अल्छेढुंगास्थित मध्यपहाडी लोकमार्गमा बसेर सवारी आवागमनमा रोक लगाइरहेका छन । यातायात ठप्प हुँदा यात्रु भने मारमा परेका छन ।
बन्दकर्ताले दिक्तेलबजारका पसल समेत बन्द गराएका छन् । बजार बन्द गराउन बन्दकर्ताको एक टोली खटिएका थिए । दिक्तेल बजार र आसपासका शैक्षिक संस्थामा पनि बन्दको प्रभाव परेको छ ।
प्रदेशको नामाकरण सच्याउन र पुनः नामाकरणको मागमा पहिचान पक्षधर पार्टी तथा जातीय संघ संगठनले बन्द आव्हान गरेका हुन । इतिहास, भूगोल, सभ्यता र संस्कृतिको आधारमा प्रदेशको नामाकरण गर्नका लागि दबाब सिर्जना गर्न बन्द आव्हान गरिएको किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातले बताए ।
प्रदेशको पुनः नामाकरणका सन्दर्भमा खोटाङमा जनता समाजवादी पार्टी नेपाल, नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, किरात राई यायोक्खा, किरात सेवा समाज, नेपाल जनजाति युवा संघ, नेपाल तामाङ घेदुङ संघ, नेवा देयःदवु, नेपाल तमु छ्योज्धी, नेपाल शेर्पा संघ, नेपाल मगर संघ, नेपाल भुजेल सेवा समाज, नेपाल माझी सेवा समाज, किरात चाम्लिङ राई खाम्वातिम, किरात साम्पाङ राई जुम्लेखा र किरात राई फन्सिकिमले संयुक्त संघर्ष थालेका छन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij