वेबटिभी खबर
ढाका । कम्तिमा ७० वटा बाघ मारेको आरोपमा बंगलादेश प्रहरीले एक व्यक्तिलाई २० वर्षपछि पक्राउ गरेको छ । लामो समयदेखि उनले अनधिकृतरुपमा लोपोन्मुख जनावरको सूचीमा रहेको बाघको शिकार गर्दै आएको प्रहरीले बताएको छ ।
बंगलादेशको घना जंगल सुन्दवन म्यानग्रोभमा बस्दै आएका हबिब तालुकदारलाई जंगलमा सक्रिय गिरोहरुको सहयोगबाट पक्राउ गरेको हो । हबिबलाई पक्राउ गर्नु प्रहरीको ठूलो सफलता मानिएको छ ।
भारत र बंगलादेशको सीमामा पर्ने म्यानग्रोभ जंगल विश्वको सबैभन्दा धेरै ‘बंगाली टाइगर’ पाइने क्षेत्र हो । यो बाघ यही ंजंगलमा सबैभन्दा धेरै पाइन्थ्यो तर पछिल्ला दशकमा लगातार बाघको संख्या घट्दै आइरहेको छ ।
५० वर्षीय हबिबलाई अहिले अदालतमा चलिरहेको मुद्दाको सिलसिलामा थुनामा पठाइएको छ । बंगलादेशमा अवैध शिकारपछि बाघको छाला, हड्डी र मासु चीन तथा अन्य मुलुकमा तस्करी हुने गरेको छ । हबिबले सुरुमा जंगलमा मह संकलन गरेर स्थानीय बजारमा बिक्री गर्दै आएका थिए । त्यसपछि उनी विस्तारै बाघको शिकार गर्न थाले ।
बंगलादेशको वन विभागले सन् २०१९ मा गरेको एक अध्ययनमा यूनेस्कोको विश्व सम्पदा सूचीमा समेत सूचीकृत भएको सुन्दरवन क्षेत्रमा ११४ बंगाली टाइगर रहेको पाइएको थियो । सन् २००४ मा गरिएको सर्वेक्षणमा यो संख्या ४४० थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij