वेबटिभी खबर
जेनेभा । भारतमा भेटिएको कोरोना भाइरसको एक स्ट्रेन चिन्ताजनक रहेको विश्व स्वास्थ्य संगठनले बताएको छ । संगठनले भारतमा सबैभन्दा पहिला भेटिएको कोभिड-१९ भेरिएन्ट (डेल्टा) को एउटा स्ट्रेनमात्रै चिन्ताजनक रहेको र अरु बाँकी दुई वटाको खतरा कम भएको बताएको हो ।
भारतमा कोरोना भाइरसको दोस्रो लहर आउनुमा B.१.६१७ भेरिएन्ट जिम्मेवार रहेको पुष्टि भइसकेको छ । यो ट्रिपल म्युटेन्ट भेरिएन्ट हो, यो तीन लिनिएजमा विभाजित हुन्छ ।
गत महिना विश्व स्वास्थ्य संगठनले यस भेरिएन्टको पुरै स्ट्रेनलाई विश्वव्यापी चिन्ताको विषय भनेर घोषणा गरेको थियो । तर मंगलबार संगठनले यसको एउटै मात्र स्ट्रेन चिन्ताजनक रहेको बताएको छ ।
विश्व स्वास्थ्य संगठनले महामारीमा आफ्नो साप्ताहिक अपडेट कार्यक्रमको क्रममा वर्तमान समयमा कोरोनाका धेरै संक्रमितहरु B.१.६१७. २ स्ट्रेनसँग सम्बन्धित छन् । बाँकी स्ट्रेनको प्रभाव कम देखिएको बताएको छ ।
चीनमा भेटिएकाे मुख्य भाइरसभन्दा डेल्टा भेरिएन्टकाे उक्त स्ट्रेन बढी खतरनाक, संक्रामक रहेकाे र केहीमा खाेपकाे सुरक्षा पनि नहुने देखिएकाे संगठनले यसअघि नै बताइसकेकाे थियाे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij