वेबटिभी खबर
काठमाडौं । चितवनक्षेत्र नम्बर-२ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक गरिएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २१ मा उम्मेदवारको विरोधमा उजुरी, २२ मा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरि निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ ।
त्यस्तै २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरि उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले निर्वाचन तालिका अगावै मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न निर्वाचन कार्यालयलाई परिपत्रसमेत गरेको कार्यालयका सूचना अधिकारी अमबहादुर पुर्जाले जानकारी दिए ।
अहिले कार्यालयले नामावली अद्यावधिकको काम गरिरहेको छ । फागुन १ देखि चैत १६ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिने छ ।
गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै उनको सांसद पद पनि खारेज भएको थियो ।
रिक्त पद उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था भएकाले आयोगले उपनिर्वाचनका लागि आयोगले तयारी गरेको हो । मंसिर ४ मा भएको निर्वाचनमा एक लाख २५ हजार १६५ मतदातामध्ये ८२ हजार ९३४ मत खसेको उनले जानकारी दिए ।
सूचना अधिकारी पुर्जाका अनुसार माघ ३ देखि २९ सम्म जिल्लामा ५९७ जनाले मतदाता नामावलीमा दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा उनीहरूले नामावली दर्ता गराएका हुन् ।
आयोगले उपनिर्वाचनको मिति तय गरेसँगै जिल्लामा मतदाता नामावली संकलनको काम रोकिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij