वेबटिभी खबर
महोत्तरी । तराई मधेशमा लागेको बाक्लो हुस्सु र चिसो स्याँठ चल्दा दैनिक जनजीवन प्रभावित बनेका छन् ।
मध्य माघपछि त घाम तात्दै गएर कामकाजमा निस्कन मौसम अनुकूल नै हुने विगत सम्झनेहरू यसपालि मौसम फरक परेकोमा छक्क परेका छन् ।
‘बाँचीवर्ती रहे भोग्न, देख्न पाइने रे’छ, माघ निगल्दो चिस्यो स्याँठ र दिउँसै रात पार्ने हुस्सु देखे, भोगेको त्यति सम्झना छैन’, गुहाली (गोठ)को एक छेउमा आगो तापिरहेकी महोत्तरीको बर्दिबास-७ मनहरिपुरकी ७२ वर्षीया इन्द्रमाया पौडेलले भनिन्, ‘आधा दिन बित्दासम्म के दिन के रात खुट्याउनै नसकिने गरी हुस्सुले डम्म ढाकी राछ ।’
शिशिरयाममा जाडो स्वभाविक भए पनि वसन्तपञ्चमीपछि घाम तात्दै जाने अनुभव सँगालेका यस भेगका पाका उमेरका सर्वसाधारण यसपालि मध्य माघयताको बाक्लो हुस्सु र चिसो स्याँठ यसअघि त्यति नव्यहोरिएको बताउँछन् ।
ठ्याक्कै वसन्तपञ्चमी मनाइएको तीन दिनपछि देखि नै फेरि बाक्लो हुस्सुले डम्म ढाकेर चिसो स्याँठ बहन थालेपछि यहाँका पाका उमेरका सर्वसाधारण मौसम उल्टोपाल्टो चल्न थालेको भन्दै छक्क परेका हुन् ।
‘हाम्रो चलनमा त तिलासक्रायत (माघेसंक्रमन्ति) नै घाम तात्न थाल्ने पर्व मानिन्छ, वसन्तपञ्चमी मनाइएपछि त वसन्त नै लागेको मान्ने चलन छ, तर यसपालि त निगल्दो माघले पनि छिप्पिएको पुस सम्झाउँदै छ’, भङ्गाहा-४ रामनगरका ७५ वर्षीय वृदेवसिंह दनुवारले भने ।
माघ दोस्रो सातायता पारिलो घाम लाग्न थालेर आकाश खुलेपछि अब जिउ तात्छ भन्ने आश पालेका आफूहरूलाई माघ तेस्रो साता लागेयता फेरि हुस्सु लाग्न थालेर चिसो स्याँठले सताउन थालेको सो बस्तीकै ८५ वर्षीय हाजी बिहारी अन्सारीले बताए ।
‘खै वसन्तपञ्चमी मनाइएपछि त हुस्सु फाट्दै गएर आकाश सफा र उज्यालो हुन्थ्यो, अहिले त फेरि पुसको स्याँठ र हुस्सु पो दोहोरियो’, उनले भने, ‘खै बाबु, के-के देख्न, भोग्नुपरेको छ को नि ?’
माघको तेस्रो सातायता बढेको बाक्लो हुस्सु र चिसो स्याँठले महोत्तरीका गरिब बस्तीका सर्वसाधारणको फेरि बिचल्ली बढेको छ । एक साता पारिलो घाम देख्न, ताप्न पाएका यहाँका सर्वसाधारण माघ तेस्रो सातापछि फेरि बाक्लो हुस्सुले ढाकेर लगातार चिसो स्याँठ बहन थालेपछि बिचल्लीमा परेका हुन् ।
महोत्तरीका सबैजसो भेगमा अहिले बाक्लो तुवाँलोले डम्म ढाकेर घाम नदेखिएको एक साता भइसकेको छ । जिल्लाको उत्तरीक्षेत्रमा मध्यान्हतिर मधुरो घाम देखिए पनि मध्य र दक्षिणी भेगमा दिउँसो कुनै बेला अक्कलझुक्कल मात्र घाम देखिन्छ ।
सामान्यतया पुस-माघमा हुस्सु लाग्ने, स्याँठ चल्ने र घाम पातलो देखिने भए पनि वसन्तपञ्चमी मौसम फेरिने खास पर्वका रूपमा लिइन्छ । माघ तेस्रो साताको प्रारम्भसँगै बढेको चिसोले फेरि पुस सम्झाएको सर्वसाधारण बताउँछन् ।
यसरी वसन्तपञ्चमीपछि फेरि मौसम बिग्रनुमा विश्वव्यापी जलवायु परिवर्तनको असर कारण रहेको वातावरणविज्ञहरू बताउँछन् ।
‘जताततै बढ्दो प्रदूषण, वनजंगल मासिँदै गएर बढेको असन्तुलन र शहरीकरणले विश्वव्यापीरूपमै असर गरिरहेको छ, यो कुसमयमा बढेको जाडो र हुस्सुले ढाकिनु यसैको कारण हो’, सामुदायिक विकास तथा पैरवीमञ्च बर्दिबासका अध्यक्ष नागदेव यादवले भने, ‘हामी सचेत भएर यसको असर कम गर्ने उपायमा नलाग्ने हो भने अझै प्रतिकूल अवस्था भोग्ने दिन आउँछन् ।’
जिल्लाका गाउँनगर बस्तीमा अचाक्ली चिसो बढेको र यसले जनजीवनमा प्रतिकूल असर पार्न थालेपछि जिल्ला विपद् व्यवस्थापन समितिले गरिब बस्तीमा न्यानो सिरक बाँड्ने अभियान नै चलाएको छ ।
‘हामीले जिल्लाका आमरूपमा अतिविपन्न मुसहर, बाँतर, चमार र खत्वेलगायतका जाति समुदायका बस्ती, असहाय वृद्धवृद्धा र अपाङ्गता भएकाहरूलाई जाडो छल्न न्यानो फाइबर सिरक बाँडेका छौँ’, जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम् विपद् व्यवस्थापन समितिका अध्यक्ष दीपक पहाडीले भने, ‘परोपकारी क्षेत्रमा कार्यरत सामाजिक संघ संस्था र स्थानीय तहको सिफारिसमा यो अभियानलाई अझै निरन्तरता दिइँदैछ ।’
बढ्दो जाडोबीच न्यानो फाइबरको सिरक पाइएपछि पालो मिलाएरै भए पनि जिउ तताउन पाइएको भन्दै यहाँका दलित बस्तीका गरिबले राहत महसुस गरेका छन् ।
जिल्लाका विभिन्न क्षेत्रका गरिब बस्तीमा पछिल्ला तीन साताबीचमा एक हजार पाँच सय परिवारमा न्यानो सिरक पु इएको समितिका सचिव तथा रेडक्रस महोत्तरी शाखाका सभापति दीपक मिश्रले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij