वेबटिभी खबर
बाग्लुङ । बाग्लुङको अधिकारीचौर गाउँमा १४ वर्ष अगाडि विद्युत् पुगेको थियो । बुढाथोक लघु जलविद्युत् आयोजनाबाट सुरु-सुरुमा उज्यालो पाएका स्थानीयवासी वर्षौंदेखि बर्खाको समयमा भने अन्धकारमा बस्दै आएका थिए ।
हिउँदमा मर्मत गरेपनि बर्खामा भुजीखोलाले हाइड्रोपावर बगाउँदा अधिकारीचौरवासी आजित भएका थिए । अधिकांश रातहरू अँध्यारोमा बिताएका उनीहरूले अब त्यो नियति भोग्नुपर्ने छैन ।
नेपाल विद्युत् प्राधिकरण बाग्लुङ वितरण केन्द्रले अधिकारीचौर, नाथुरी, भैँसीखर्कलगायत गाउँमा केन्द्रीय प्रसारण लाइन विस्तार गरेको छ । गाउँमा केन्द्रीय लाइनबाट उपलब्ध विद्युतले स्थानीय खुसी भएका हुन् ।
२०६५ मा बुढाथोक लघु जलविद्युत् आयोजना सञ्चालनमा आएपछि गाउँमा विद्युत् पुगे पनि बाह्रै महिना बाल्न पाइएको थिएन । केन्द्रीय विद्युत् जडान भइसकेकाले अब बर्खामा पनि बिजुली बत्ती बाल्न पाइने स्थानीयवासी शालिकराम कँडेलले बताए ।
विद्युत् प्राधिकरणको तीन महिनादेखि लगातारको प्रयासले अहिले गाउँमा केन्द्रीय लाइन आइपुगेको उल्लेख गर्दै कँडेलले स्थानीय हाइड्रोपावर हरेक वर्ष बाढीले बगाउँदा आफूहरू अन्धकारमा बस्न बाध्य भएको जानकारी दिए ।
कँडेलले पटक-पटक बाढीले नहर तथा विद्युत् गृह बगाउँदा यस क्षेत्रका हजारौँ नागरिकले वर्षौंदेखि दुःख पाएको बताए ।
उनले भने, ‘हिउँदभरि बनाउन लाग्थ्यो, बर्खा लागेपछि बगाईदिन्थ्यो, अब त बाढीले बगाउला भन्न पनि परेन, ठूलै मेसिनहरू चलाउँदा पनि पावर नपुग्ला भन्न पनि परेन, अब त गाउँमा पनि केन्द्रीय लाइन आयो, हामीहरुलाई धेरै खुसी लागेको छ, अब अँध्यारोमा टुकी वा दियालो बालेर बस्न पर्ने छैन, कहिलेकाहीँ बिग्रिने कुरा त स्वाभाविक नै भयो ।’
गत असोजमा आएको बाढीले ६० किलोवाटको बुढाथोक लघुजल विद्युत् आयोजनाको नहरसहित टंकीमा ठूलो क्षति पुर्याएको थियो । केन्द्रीय लाइनले स्थानीयवासीलाई अँध्यारोबाट उज्यालोमा फर्काएको उक्त आयोजनाका अध्यक्ष नरेन्द्र कुँवरले बताए ।
अध्यक्ष कुँवरले भुजीखोलाले बर्सेनि विद्युत् नहर तथा गृहमा क्षति पुर्याउँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य हुनाका साथै लाखौँको धनमाल नोक्सान हुने गरेको जानकारी दिए।
‘यो जलविद्युत् आयोजना सञ्चालनमा आएको चौध वर्षभन्दा बढी भयो, धेरै मिहेनत र दुःखले घरघरमा बिजुली पुगेको थियो तर बाढी-पहिराले हैरान बनायो, असोजमा पनि पहिराले नहर र ट्यांकीमा ठूलो क्षति पुर्यायो, अहिले मर्मत गरिरहेका छौँ’, अध्यक्ष कुँवरले भने, ‘अब धेरै सहज हुने भयो, गाउँमा बर्खामा पनि बिजुली बल्ने भयो, अब जनताले दुःख पाउने छैनन्, यो लघुजलविद्युत् पनि निर्माण भइरहेको छ, अब केही समयमै सञ्चालनमा आउने छ ।’
अर्का स्थानीयवासी शिवराज कँडेलले स्थानीय हाइड्रोपावर समय-समयमा बिग्रँदा साना तथा मझौला उद्योगीहरू समस्यामा परेकोमा अब उनीहरूलाई ठूलो राहत मिल्ने बताए ।
झन्डै तीन महिनादेखि अन्धकारमा रहेका अधिकारीचौर क्षेत्रका हजारौँ नागरिक केन्द्रीय लाइनले घर उज्यालो बनाउन पाउँदा खुसी बनेको उनको भनाइ छ ।
नेपाल विद्युत् प्राधिकरण बाग्लुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले यहाँका नागरिक महिनौँदेखि अन्धकारमा बस्दै आएको हुँदा तत्काल समस्या समाधान गरिएको बताए।
प्रमुख मरासेनीले अधिकारीचौर, भैँसीखर्क, नाथुरीमा विद्युत् बलिसकेको र प्याङ्खोला, मस्ती, चौरलगायत ठाउँमा लाइन जडान भइरहेको जानकारी दिए । ती गाउँमा पनि केही दिनमै केन्द्रीय लाइन उपलब्ध गराइने छ ।
यहाँ विद्युत् विस्तार गर्दा ५० लाख भन्दाबढी खर्च भइसकेको उनको भनाइ छ । यस वर्ष बाग्लुङमा विद्युत् प्राधिकरणबाट एक करोड र नेपाल सरकारबाट ९३ लाख विनियोजन भएककाले जिल्लाको सबै ठाउँमा काम तीव्र रूपमा भइरहेको उनले जानकारी दिए ।
पश्चिम बाग्लुङका लागि गलकोटमा सवस्टेसन निर्माण गरेर सञ्चालन गरिएको र बुर्तिबाङमा पनि एक सय ३२ केभीको सभ स्टेसन निर्माण भइरहको छ । यस वर्ष ढोरपाटन उपत्यकासम्म केन्द्रीय लाइन पुर्याउने गरी काम तीव्र गतिमा भइरहेको छ ।
गण्डकी प्रदेशसभा सदस्य द्रोणकुमार कुँवरले यस क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तारका लागि आफू विगतदेखि लागेको बताए । भौगोलिक विकटताका कारण यतिका समयसम्म निसी, भुजी र तमान क्षेत्रमा विद्यतीकरणका लागि आफूले पटक-पटक मन्त्रालय तथा प्राधिकरणका निर्देशकसँग आग्रह गर्दै आएको उनको भनाइ थियो ।
अहिले गाउँमा केन्द्रीय लाइनबाट बिजुली बल्न थालेपछि यहाँका नागरिकमा खुसी छाएको र दूरदराजका गाउँमा विद्युत् पुर्याउन आफूले सक्दो पहल गर्ने सदस्य कुँबरले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij