वेबटिभी खबर
काठमाडौं । उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले खाल्डाखुल्डी भएका ठाउँमा तत्काल मर्मत गरिने र अन्य समस्याका कारण मर्मत गर्न नसकिने ठाउँमा सम्बन्धित निकायसँग समन्वयमा मर्मत गरिने बताएका छन् ।
काठमाडौं उपत्यकाका विभिन्न सडकको स्थलगत निरीक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले खानेपानीको पाइप बनाउनुपर्ने, ढल निर्माण गर्नुपर्ने वा अहिले जमिनमुनि तार बिच्छाइरहेका ठाउँमा ती काम सकिएपछि मात्रै सडक राम्रो अवस्थाको बन्नसक्ने देखिएको बताएका हुन् ।
निरीक्षणका क्रममा सडकको अवस्था सन्तोषजनक नभएको र आमनागरिकले समस्या भोग्नुपरेको देखिएको उनले बताए । अहिले सडक धुलाम्मे अवस्थाका कारण सवारी चालक, पैदलयात्रु र सडक नजिक व्यवसाय गरिरहेका सबलाई असर गरेको उनको भनाइ थियो ।
कतिपय राज्यले गर्नेपर्ने कामका कारण पनि भएका र कतिपय तदारुकताका साथ सम्पन्न नगरेका कारणले यो अवस्था आएको उपप्रधानमन्त्री श्रेष्ठले स्पष्ट पारे ।
नेपाल विद्युत् प्राधिकरणले सबै तार अण्डरग्राउण्डको नीति लिएकाले पनि सडक खन्ने काम भइरहेको, मेलम्ची पानी वितरणलाई पुरानो पाइपबाट गरिरहेको र त्यसले गर्दा एक सय वर्षभन्दा पुरानो पाइपमा समस्या देखिएको उनले बताए ।
उनले भने, ‘ढललगायत कतिपय तत्काल टार्न नसकिने समस्या रहेको छ ।’ उपत्यकाका सडक भौतिक पूर्वाधार मन्त्रालय मात्र नभएर महानगरपालिका, उपत्यका नगर विकास प्राधिकरण लगायतका निकायले पनि निर्माण गरिरहेकोमा मन्त्रालयले सबैसँग समन्वय गरेर सडक चुस्त बनाउने उनले जानकारी दिए ।
मन्त्रालयमा बुधबार सरोकारवालासँग छलफल गरिएको र दुई सातामा सडकमा संरचना रहेका निकायका प्रमुखसँग बसेर समाधन गरिने उपप्रधानमन्त्री श्रेठले बताए ।
तत्काल केही समय लाग्ने हुँदा धैर्य गर्न अनुरोध गर्दै जनताले तिरेको करबाट सुविधा लिइएका कसैलाई पनि कमजोरी गर्न छुट नहुने उनको भनाइ छ । उपप्रधानमन्त्री श्रेठ भने, ‘सबैलाई जिम्मेवारी बोध गराएर सकारात्मक कुरामा हस्तक्षेप गरेर काम गराइनेछ ।’
उपप्रधानमन्त्री श्रेष्ठसँगै भौतिक पूर्वाधार सचिव गोपाल सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजंग थापालगायत नेपाल विद्युत् प्राधिकरण, मेलम्ची खानेपानी आयोजना, नेपाल टेलिकमलगायतका निकायका पदाधिकारीले सडक निरीक्षण गरेका थिए ।
उनीहरूले काठमाडौंको लाजिम्पाट, पानीपोखरी, ललितपुरको नख्खु, भैँसेपाटी, सातदोबाटोलगायतका स्थानमा पुगेर सडक निरीक्षण गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij