Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

भलिबल : नेपाल पुलिसको लगातार दोस्रो जित

भलिबल : नेपाल पुलिसको लगातार दोस्रो जित

  • 314
    SHARES
  • भलिबल : नेपाल पुलिसको लगातार दोस्रो जित

    काठमाडौं । राजधानीमा जारी सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब एभरेष्ट भलिबल क्लबलाई पराजित गर्दै विजयी भएको छ ।

    त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा पुलिसले एभरेष्ट भलिबल क्लबलाई ३-० को सेटमा हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो ।

    यसअघि आइतबार भएको पहिलो खेलमा पुलिसले नयाँबजार युवा क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको थियो । आजको खेलमा पुलिसले एभरेष्टलाई पहिलो सेट २५-१४ ले हरायो भने खेलको दोस्रो सेट २५-९ ले जित्यो ।

    त्यस्तै खेलको तेस्रो सेट पुलिसले २५-६ ले आफ्नो पक्षमा पार्‍यो । यस जितसँगै समूह ‘ए’ मा रहेको पुलिसले दुई खेलमा छ अंक जोडेको छ । आजै भएको महिलातर्फको अर्को खेलमा न्यू डायमण्ड एकेडेमीले नयाँबजार युवा क्लबलाई ३-० को सोझो सेटमा हराउँदै विजयी सुरुआत गरेको छ ।

    न्यु डायमण्डले नयाँबजारमाथि पहिलो सेट २५-२ ले जित्यो भने दोस्रो सेट २५-८ तथा तेस्रो सेट २५-६ ले हरायो । जितसँगै समूह ‘ए’ को न्यू डायमण्डले तीन अंक जोडेको छ । च्याम्पियनसिपमा महिलातर्फ आठ टोली सहभागी छन् भने पुरुषतर्फ १४ टोलीले सहभागिता जनाएका छन् ।

    च्याम्पियनसिपको महिला र पुरुषतर्फको विजेता टोलीले चार लाख पाउनेछ भने उपविजेताले दुई लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो हुने टोलीले एक लाख पाउनेछ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij