Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

पूर्वी नवलपरासीका ६८ वटा सीसी क्यामेरा बिग्रिए

पूर्वी नवलपरासीका ६८ वटा सीसी क्यामेरा बिग्रिए

  • 312
    SHARES
  • पूर्वी नवलपरासीका ६८ वटा सीसी क्यामेरा बिग्रिए

    नवलपरासी । सडक सुरक्षा र अपराधिक घटना न्यूनीकरण गर्न पूर्वी नवलपरासीमा जडान गरिएका एक सय १५ मध्ये ६८ सीसी क्यामेरा बिग्रिएका छन् ।

    प्रहरीको मातहत रहने गरी जडान गरिएका क्यामेरामध्ये ६८ वटाले काम गर्न छोडेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

    उनका अनुसार नारायणगढ बुटवल सडक विस्तार र निर्माण, समय समयमा आउने हावाहुरी, पानी, चट्याङका कारण जिल्लाका विभिन्न स्थानका क्यामेरा बिग्रिएका हुन् ।

    कावासोती नगरपालिकामा जडान भएका ३३ मध्ये १६, देवचुलीका १०, मध्यविन्दु नगरपालिकाका ११ मध्ये चार, विनयी त्रिवेणीका १२ मध्ये नौ र गैँडाकोट नगरपालिकाका ४९ मध्ये २९ सीसी क्यामेरा बिग्रिएर काम नगर्ने भएका हुन् । गण्डक ब्यारेजको चारवटै सीसी क्यामेरा बिग्रिदा सीमा नाकामा समस्या भएको छ ।

    गैंडाकोटदेखि दाउन्नेसम्म करिब ६५ मुख्य सडकखण्ड पर्ने भएकाले सवारी दुर्घटना, लागुऔषधसहितका आपराधिक गतिविधि नियन्त्रण गर्न सिसी क्यामेरा प्रभावकारी भएपनि पछिल्लो समय क्यामराले काम नगर्दा केही असहज भएको बताइएको छ ।

    बिग्रिएका सीसी क्यामेरा मर्मत प्रहरी एक्लैले गर्न नसक्ने भएकाले विशेष गरेर स्थानीय तहसँग समन्वय गरिएको छ । पूर्वपश्चिम राजमार्ग विस्तारको काम सकिएपछि सडक सुरक्षाको लागी सीसी क्यामेरा झनै महत्वपूर्ण हुने भएकाले थप सीसी क्यामेराका लागि सडक निर्माणको जिम्मा पाएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनसँग आवश्यक समन्वय गरिरहेको र निर्माण कम्पनी सकारात्मक रहेको तिवारीले बताए ।

    कालीगण्डकी डाइभर्सनको काम पनि अन्तिम चरणमा पुगेकाले योसहित पहाडी क्षेत्रका सडकका मुख्य नाकामा सीसी क्यामेरा जडानको योजनामा आफूहरू रहेको उनको भनाइ छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij