वेबटिभी खबर
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले राजेन्द्र महतोलाई संसदीय दलको नेता नमान्ने निर्णय गरेको छ । शनिबार साँझ बसेको अध्यक्ष उपेन्द्र यादव पक्षका बहुमत केन्द्रीय सदस्यको बैठकले महतोलाई संसदीय दलको नेता नमान्ने निर्णय गरेको हो ।
शुक्रबार अर्का अध्यक्ष महन्थ ठाकुर सहितका सांसदको बैठकले महतोलाई संसदीय दलको नेता चयन गरेको थियो । त्यो निर्णय एकलौटी ढंगले भएको जनाउँदै केन्द्रीय कार्यकारिणी समितिको बैठकले अस्वीकार गर्ने निर्णय गरेको हो ।
संसदीय दलको विधान नभएको र पार्टीको निर्वाचन समिति नबनेकाले अवैध तवरले दलको नेता चयन गरेको यादव पक्षको भनाइ छ । यससँगै पार्टीको विधान उल्लंघन गर्ने नेताहरूलाई कारबाही समेत गर्ने कार्यकारिणी समितिको बैठकले निर्णय गरेको जनाएको छ ।
बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनविरुद्ध विपक्षी दलसँग सहकार्य गर्ने पनि निर्णइ भएको अध्यक्ष यादवले बताए । अध्यक्ष ठाकुरको अनुपस्थितिमै जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक बसेको थियो ।
यसअघि शुक्रबार ठाकुरले विज्ञप्ति जारी गरि बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यलाई निर्देशन समेत दिएका थिए ।
पार्टीको पहिलो अध्यक्ष ठाकुर भएको हुँदा पार्टीमा ठाकुरको निर्णय नै अन्तिम हुने तर्क ठाकुर पक्षका नेताहरूको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij