वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसले चुनावमार्फत संसदीय दलको नेता टुंगो लगाउने भएको छ ।
कांग्रेसको विधानमा दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था भएकाले दलको नेता छान्न चुनाव हुन लागेको हो । त्यसका लागि मंगलबार (आज) उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।
कांग्रेसमा दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच भिडन्त हुने निश्चित भएको छ ।
संस्थापन पक्षबाट देउवा र इतर पक्षबाट साझा उम्मेदवार थापा तय भएका छन् । मंगलबार बिहान लाजिम्पाट र सिंहदरबारमा बसेको इतर समूहको दुईवटा बैठकले सर्वसम्मत रूपमा थापाको नाममा सहमति जुटाएको हो ।
इतर समूहमा नेता डा.शेखर कोइराला पनि इच्छुक थिए । तर अन्तिममा उनले थापालाई दलको नेता प्रस्ताव गरे । आजै सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कोइरालाले थापाको नाम प्रस्तावक हुने भएका छन् ।
यसअघि अर्का महामन्त्री विश्वप्रकाश शर्माले आफू थापालाई प्रधानमन्त्रीको उम्मेदवारको प्रस्तावक भएको बताएका छन् । संसदीय दलको नेता बन्न थापालाई शर्माले सघाउने भएका छन् ।
एउटै पार्टीमा सभापति र महामन्त्री दलको नेताका उम्मेदवार बन्नुलाई पुस्तान्तरणको रूपमा लिइएको छ । आजको भेलामा कोइरालाले पार्टी रुपान्तरणसँगै पुस्तान्तरणका लागि आफूले थापालाई दलको नेतामा प्रस्ताव गरेको बताएका छन् ।
कांग्रेसमा ८९ जना सांसद छन् । दलको नेता बन्न ४५ मत भए पुग्छ । निर्वाचनको परिणामअनुसार संस्थापन पक्षमा ५५ जना सांसद छन् ।
इतर समूहमा ३४ जना छन् । संस्थापन पक्ष बलियो हुँदाहुँदै पनि महामन्त्री थापाले सभापति देउवासँग दलको नेता भिड्न चाहनुलाई धेरैले सकारात्मक अभ्यासका रूपमा लिएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij