वेबटिभी खबर
बाँके । बाँकेमा संस्कृत भाषा पढाउने अर्को विद्यालय खुलेको छ । लुम्बिनी प्रदेशमै दोस्रो संस्कृत भाषा पढाउने विद्यालयको रूपमा संस्कार विद्या निकेतन खोलिएको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–१७ पर्सपुरमा संस्कृत भाषा पढाउने विद्यालय खोलिएको विद्यालयको व्यवस्थापक कृष्णदेवी पाण्डेले जानकारी दिइन् ।
तीन वर्षदेखि निरन्तर विद्यार्थीहरूलाई संस्कृत भाषा पढाउनुको साथै विद्यालयले संस्कार सिकाउँदै आएको छ ।
‘लामो समयदेखि संस्कृत भाषा पाठपाठन गराउने विद्यालयहरू सञ्चालनमा नआएकाले संस्कृत भाषा लोप हुँदै गएको छ । वर्ष २०४७–४८ सम्म केही विद्यालयले संस्कृत भाषा पठनपाठन गराउँदै आएका थिए । तर अंग्रेजी भाषालाई बढी प्राथमिकतामा राखेर शैक्षिक व्यवस्था मिलाउँदै जाँदा मुलुकको पहिचान जाहेर गराउने भाषाहरू विस्तारै लोप हुँदै गएका छन्,’ उनले भनिन् ।
पाण्डेका अनुसार संस्कृत एउटा भाषा मात्र नभएर समाजमा जीवनयापनका लागि दिइने संस्कारसमेत हो । अहिलेका बालबालिका अंग्रेजी, नेपाली, विज्ञानलगायतको विषय विद्यालयमा पाठपाठन गरे पनि उनीहरूले आमाबुबाको सम्मान, ठूलाबडाको आदर, आफूभन्दा सानोसँग गर्ने व्यवहारबारे सिक्न पाइरहेका छैनन्, संस्कार पाउनबाट वञ्चित भइरहेका बालबालिकालाई संस्कृत भाषासहित संस्कार दिने उद्देश्यले संस्कार विद्या निकेतन खोलिएको उनको भनाइ छ । वर्तमान कम्प्युटर भाषा संस्कृत भाषाबाटै प्रेरित भएर लिएको पाण्डेको दाबी छ ।
पाण्डेले मुस्लिम समुदायको मदरसा शिक्षाको समेत प्रशंसा गरिन् । ‘मदरसामा बालबालिकाहरूलाई आमाबुबाको सम्मान, आफ्नो छिमेकीहरूको हकअधिकार र समाजमा असल जीवनयापन गर्ने शैली सिकाइन्छ । जसले गर्दा मदरसामा पढ्ने विद्यार्थीहरू नराम्रो काममा संलग्न भएको देखिँदैन,’ उनले भनिन् ।
संस्कार विद्या निकेतन विद्यालयमा करिब ७५ जना बालबालिका छन् । बालबालिकाहरुलाई बिहान ओमकार पाठ, योगा, नृत्य, खेलकुद, गायात्री मन्त्र, शान्ति पाठ गराउनुको साथै उनीहरूलाई सेल्फ डिफेन्स पनि सिकाइन्छ । करिब १२ कट्ठा जग्गामा खोलिएको विद्यालयमा आठ कट्ठामा पाठपाठन र चार कट्ठामा खेलकुद सञ्चालन हुँदै आएको छ । विद्यालयले अहिले कक्षा १ सम्मको मात्र मान्यता प्राप्त गरेको छ । उक्त विद्यालय स्थापना गर्न १८ लाखको लगानीमा ७ कोठा, ६ लाइट्री निर्माण भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij