Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

आलु बजारीकरणको जिम्मा नगरपालिकाले लिएपछि किसान उत्साहित

आलु बजारीकरणको जिम्मा नगरपालिकाले लिएपछि किसान उत्साहित

  • 487
    SHARES
  • आलु बजारीकरणको जिम्मा नगरपालिकाले लिएपछि किसान उत्साहित

    पाल्पा । रामपुर नगरपालिका-६ की सीता देवकोटालाई अघिल्ला सिजनमा खेतमा आलु खन्ने बेला भएपछि कसरी बिक्री गर्ने भन्ने चिन्ताले निकै पिरोल्थ्यो । उनले हरेक वर्ष करिब १० क्विन्टल आलु उत्पादन गर्दै आएकी छिन् ।

    उक्त क्षेत्रका सबै किसानकाे आलु उत्पादन हुने समय एउटै हुँदा बजारमा उनलाई भनेकाे बेला बिक्री गर्न समस्या हुन्थ्यो । कहिलेकाहीँ त घरमा भण्डारण गरेर राखिएको आलु टुसा उम्रने बेलासम्म नबिकेर त्यत्तिकै कुहाउनु पनि पथ्र्यो ।

    अहिले भने रामपुर नगरपालिकाले किसानले उत्पादन गरेको आलु बजारीकरणको प्रबन्ध गरिदिने भएपछि यहाँका किसानहरू उत्साहित हुँदै आलुखेतीमा लागेका छन् ।

    उनले भनिन्, ‘खेतमा आलु खन्ने बेला भएपछि कहाँ लगेर कसरी बेचौँ भन्ने समस्याले सधैँ सताउँथ्यो, धेरैपटक घरमै उम्रेर, कुहेर फाल्नुपरेको छ । अहिले नगरपालिकाले बजारीकरणलाई सहज बनाउँदै बीउमा अनुदान दिएको छ । बजारीकरणको पिरलो नहुने भएपछि ढुक्कले खेतमा आलु लगाइएको छ ।’

    उनले यस वर्ष करिब दुई क्विन्टल आलु लगाएकी छिन् । उत्पादित आलुको बजारीकरण व्यवस्थापनको जिम्मेवारी नगरपालिकाले लिएपछि ढुक्कले आलुखेती गरेकाे उनले बताइन् । रामपुर-७ बस्ने अगुवा आलु उत्पादक किसान यमकान्ती गौतमले यस क्षेत्रमा धेरै आलु उत्पादन गर्दै आएकी छिन् ।

    बर्सेनी गौतमले करिब एक सय क्विन्टल बीउ तथा खायन आलु उत्पादन गर्छिन । धेरै आलु उत्पादन गर्ने उनलाई हरेक वर्ष बजारकै समस्या खड्किन्छ । उनले पाँच-सात वर्षदेखि व्यावसायिकरूपमा आलुखेती गरिरहेकी छिन् ।

    उनले भनिन्, ‘धेरै आलु उत्पादन भएपछि घरमा भण्डारण गरेर राख्ने ठाउँको अभाव, बजारमा झट्ट बेच्नै गाह्रो,  समयमा नै रामपुरमा आलु नबिकेर बाहिरका विभिन्न बजारमा कम मूल्यमा पठाइयो, बजारीकरणको राम्रो प्रबन्ध नहुँदा कहिलेकाहीँ लगानी नउठ्ने गरि बेच्नुपथ्र्यो, अब यस्तो समस्या भोग्न नपर्ने भएपछि किसानलाई धेरै सजिलो हुने भयो ।’

    किसान गौतमले नगरपालिकाको अनुदान सहयोगमा ६ रोपनी जग्गामा करिब साढे ६ क्विन्टल खायन आलु लगाएकी छिन् । बजार सहज भएमा आलु उत्पादनलाई अझै बढाउँदै जाने उनकाे याेजना छ ।

    खायन आलु उत्पादन कार्यक्रमअन्तर्गत यस आर्थिक वर्षमा १५ लाख ५० हजार बराबरको रकम किसानलाई अनुदान दिइएको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेले बताए ।

    उनले भने, ‘आलुको उत्पादन वृद्धि गरि आयस्रोत बढाउने, बाहिरबाट आयातित आलुलाई घटाउने, रोजगार सिर्जना गर्न नगरले किसानको मागको आधारमा आलु उत्पादन तथा प्रवर्द्धन कार्यक्रम सुरु गरेका छ ।’

    उनका अनुसार यस कार्यक्रममा करिब तीन सय किसान आबद्ध छन् । साढे तीन सय क्विन्टल खायन आलुको बीउमा ५० प्रतिशत किसानलाई अनुदान रकम उपलब्ध गराउने कार्यक्रमअनुसार किसान आफैँले बीउ खरिद गरेर लगाएका छन् ।

    फस्ट च्वाइस फुड प्राइभेट लिमिटेड कम्पनी बुटवल बेलबासको सहकार्यमा रामपुर नगरपालिकाले खायन आलु उत्पादन कार्यक्रम सुरु गरेको छ । रामपुरमा उत्पादन भएको आलु सो कम्पनीले खरिद गरेर लैजाने सम्झौता भएपछि किसानले उत्साहित हुँदै आलुखेती लगाएका छन् ।

    कार्डिनल, खुमल उज्वल, खुमल रातो, जनकदेव, टिपिएस जातका बीउ खरिद गरेर खेती गरेको किसानले बताएका छन् । किसानलाई आलु उत्पादनमा उप्रेरित गराउन अनुदान उपलब्ध गराउनुका साथै अन्यत्र बजारीकरणको प्रबन्ध र भण्डारण गर्न चाहेमा रामपुरमै शीतभण्डारको व्यवस्था गरिएको रामपुर नगरपालिका प्रमुख रमणहादुर थापाले बताए ।

    उनले भने, ‘किसानले उत्पादनमा जोड दिनुपर्यो, उत्पादित सामानले बजार नपाएमा त्यसको बजारीकरणको व्यवस्था नगरले गर्नेछ, दुई-चार किलो तरकारी, फलफूल उत्पादन गरेर बजार पाइएन भन्नुभन्दा पनि ठूलो परिमाणमा उत्पादन गरेमा बजारको जिम्मा हामी लिनेछौँ ।’

    हराभरा महिला कृषि सहकारी, दियालो सामाजिक महिला उद्यमी कृषि सहकारी, कँडेलबारी कृषक समूह, तालपोखरा कृषक समूह, आत्मनिर्भर कृषक समूह, जनजागृति कृषक समूह, सातबिसे सेरा कृषक समूह, माझटोल कृषक समूह, नदी किनार कृषक समूह, शुभप्रभात महिला कृषक समूहले रामपुर नगरपालिकाको अनुदान सहयोगमा खायन आलुखेती गरेका छन् ।

    यस वर्ष झण्डै तीन सय क्विन्टल आलुको बीउ किसानलाई अनुदानमा उपलब्ध गराइएको छ । खायन आलु उत्पादन कार्यक्रमअन्तर्गत नगरपालिकाभित्र करिब चार सय रोपनी क्षेत्रफलमा आलुखेती गरिएको छ । रामपुरमा करिब दुई हजार पाँच सय हेक्टर क्षेत्रफलमा आलुखेती गरिँदै आइएको छ ।

    पछिल्ला वर्षमा रामपुरमा पालिकाले बीउमा अनुदान दिन थालेपछि आलुखेतीमा किसानको ह्वात्तै आकर्षण बढेको छ । छोटो समयमा खेती लगाएर धेरै उत्पादन गर्न पाइने आशामा धेरैले हिउँदयाममा व्यावसायिक आलु उत्पादनलाई जोड दिन थालेका छन् ।

    रामपुर क्षेत्रमा आलुको उत्पादन राम्रो हुन थालेपछि आयस्रोतको एउटा दरिलो माध्यम बनेको छ । रामपुरबाट बिक्रीका लागि अहिले तानसेन, पोखरा, बुटवल, नारायणघाट, काठमाडौंसम्म सडक सञ्जाल जोडिएपछि सवारीसाधनमा पठाउन सजिलो भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij