Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

भेडा व्यवसायी चिसो छल्न बेंसी झर्दै

भेडा व्यवसायी चिसो छल्न बेंसी झर्दै

  • 354
    SHARES
  • भेडा व्यवसायी चिसो छल्न बेंसी झर्दै

    बाजुरा । बाजुराका हिमाली क्षेत्रमा बस्ने अधिकांश भेडा व्यवसायी हिउँदको समयमा चिसो छल्न परिवारसहित बेंसी झर्ने गरेका छन् । व्यावसायिकरूपमा भेडापालन गरिरहेका भेडा व्यवसायी चिसो मौसम सुरु हुन लागेदेखि छिमेकी जिल्लाका विभिन्न फाँटमा बसाइ सर्ने गरेका हुन् ।

    अन्य वर्ष जस्तै यस वर्ष पनि चिसो छल्न डोटी पुगेका बूढीनन्दा नगरपालिका-९ बाजुराका चन्द्र बोगटीले आफ्नो रोजगारी र आयआर्जनको स्रोत नै भेडापालन भएकाले हिउँदको समयमा चिसोबाट जोगाउन बेंसी सर्ने गरेको बताए ।

    बोगटीसँग हाल ७० भेडा रहेका छन् । बोगटीसहित तीन परिवार एक सातादेखि भेडासहित डोटीको दिपायल सिलगढी नगरपालिका-७ बुणामाजमा सडक छेउमा टेन्ट राखेर बस्दै आएका छन् ।

    उनीहरूले यहाँ फागुनसम्म बस्ने जानकारी दिए । चार वर्षदेखि यही स्थानमा बस्दै आएको उनीहरूले बताए । बूढीनन्दा-९ का अर्का भेडा व्यवसायी मानसिंह थापाले भने, ‘भेडापालन गर्नु हाम्रो मुख्य पेशा नै हो । यो हाम्रो पुर्खाले नै गर्दै आएको पेशा हो । त्यसैलाई हामीले निरन्तरता दिएका हौँ ।’

    थापासँग हाल ६० भेडा छन् । उनी एक छोरा र श्रीमतीसहित सँगै बस्दै आएका छन् । सोही स्थानमा डेरा सरेर आएका भेडा व्यवसायी बूढीनन्दा-९ का शिवा गुरूङसँग भने छुट्टै अनुभव छ ।

    उनी सुरुमा अरूको गोठालो भएर काम गर्थे । पछि उनी बिस्तारै आफैँ व्यावसायिकरूपमा भेडापालन गर्दै आइरहेका छन् ।

    उनले भने, ‘के गर्नु सुरुमा धेरै वर्ष अरूको गोठालो भइयो, जसको गोठालो भइयो उहाँहरूका अहिले कसैका काठमाडौं, कसैका धनगढी र नेपालगञ्ज घर छन्, आफ्नो भने उही जिन्दगी छ ।’

    उनी अहिले उमेरले ४९ वर्ष पुगे । पाँच वर्षको हुँदादेखि नै अरूको भेडा हेर्ने काम सुरुआत गरेको उनले बताए । हाल उनीसँग एक सयभन्दा बढी भेडा छन् । उनी एक छोरा र श्रीमतीसहित आएका हुन् ।

    उनी भेडाबाट वार्षिकरूपमा छ/सात लाख आम्दानी हुने गरेको बताए । बाजुरा, हुम्ला, जुम्लाका हिमाली क्षेत्रका अधिकांश भेडा व्यवसायी हिउँदका समयमा चिसो छल्न विभिन्न स्थानमा बसाइ सर्ने गरेका छन् ।

    हिउँदको चिसो छल्न बेंसी झरेका भेडा व्यवसायीले भेडा बिक्रीवितरण गर्नाका साथै राडीपाखी, डसना पनि बिक्री गर्दै आएका छन् । प्रतिभेडा १५ हजारदेखि ३५ हजारसम्म र राडीपाखी  दुई हजारदेखि पाँच हजारसम्म बिक्री गर्ने गरेको व्यवसायी बताउँछन् ।

    भेडा राखेबापत सामुदायिक वनलाई मासिकरूपमा छ/सात हजार रोयल्टी तिर्ने गरेकोसमेत उनीहरू बताउँछन् । बाजुराका हिमाली क्षेत्रका अधिकांश भेडा व्यवसायी हिउँदको समयमा चिसो छल्न डोटी, अछाम र बाजुराका विभिन्न स्थानमा गएर बस्ने गर्दछन् ।

  • सम्बन्धित विषय:

  • # व्यवसायी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij