वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको बताए ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३औँ प्राज्ञसभाको उद्घाटन गर्दै उनले नेपालको प्राचीन वस्तु तथा स्थापत्यकला, मूर्तिकला, चित्रकला र संगीत एवं नाट्य स्वदेशमा मात्र नभएर विदेशमा पनि उत्तिकै प्रसिद्ध र लोकप्रिय रहेको बताए ।
कला साधक र सर्जक देशका अमूल्यनिधि भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कलाकारले सिर्जना गरेका कलाकृति देशका अमूल्य सम्पत्ति एवं मुलुकको पहिचानका महत्वपूर्ण प्रतिक भएकाले यसको संरक्षण गरिनुपर्नेमा जोड दिए ।
उनले भने, ‘कला र संस्कृतिको सिर्जनाको संरक्षण र सम्वद्र्धन गर्दै विश्व मानचित्रमा नेपालको विशिष्ट पहिचान बनाउँदै कला संस्कृतिको सम्वर्द्धनबाट आर्थिक सामाजिक विकासमा योगदान पुर्याउन हामी सबै प्रतिबद्ध हुन आवश्यक छ । ललितकला क्षेत्रको संरक्षण र सम्वद्र्धन, यस क्षेत्रमा अध्ययन अनुसन्धानलाई प्रवर्द्धन गर्ने तथा कलाकारको सिर्जना र प्रतिभालाई देश, विदेशमा प्रचारप्रसार गर्ने लगायतका उद्देश्यले प्रतिष्ठानको स्थापना भएको हो ।’
नेपाली कलाकारले बनाएका कलाकृति विश्वका विभिन्न देशका सङ्ग्रहालय तथा ग्यालरीमा रहेको जानकारी गराउँदै प्रधानमन्त्री देउवाले नेपाल विशिष्ट कलाकारको जन्मभूमिका रुपमा स्थापित भएको बताए ।
छ/सात सय वर्षअघि नेपालमा जन्मिएका प्रतिभाशाली कलाकार अरनिकोले नेपाली कलाकारको नेतृत्व गर्दै छिमेकीमुलुक चीन पुगेर थुप्रै कलाकृति सिर्जना गरी नेपाली वास्तुकलालाई व्यापक बनाएको प्रसंग पनि उनले स्मरण गरे ।
प्रधानमन्त्री देउवाले भने, ‘अरनिकोले चीनमा बनाएका कलाकृति आज पनि जीवन्त रहेर नेपाललाई चिनाइरहेको छ । कला, संस्कृतिलाई देशको मात्र नभई विश्वकै सम्पत्ति मानेर संरक्षण र सम्वद्र्धन गर्ने प्रचलन सुरु भएको छ । युनेस्कोलगायत अन्तर्राष्ट्रिय संस्थाले यसका लागि सहयोगसमेत गर्दै आइरहेका छन् ।’
प्रतिष्ठानले पनि युनेस्कोलगायत यस सम्बन्धमा काम गर्ने अन्य संस्थासँग सहकार्य गर्दै अघि बढ्नुपर्ने उनको सुझाव छ । कला, संस्कृति र सम्पदाको संरक्षणबाट अहिलेको पुस्ताले मात्र नभई भावि पुस्ताले पनि फाइदा उठाउनसक्ने भएकाले विशेष ध्यान दिन प्रधानमन्त्री देउवाले आग्रह गरे ।
यस क्षेत्रका सीप र प्रतिभालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रतिष्ठानले जोड दिनुपर्नेमा उनले जोड दिए । कलाकार अरनिकोको १७ फिट अग्लो मूर्ति निर्माणलाई सम्पन्न गर्न आवश्यकपर्ने बजेट सरकारले व्यवस्था गर्ने उनको प्रतिबद्धता छ ।
नेपालभर छरिएर रहेका कलाकारको खोजी गरि व्यक्तिवृत्त तयार गर्ने, तिनका कलाकृतिको संरक्षण गर्ने र सिर्जित कलाकृतिलाई स्वदेश तथा विदेशमा व्यवस्थित तवरले प्रचारप्रसार गर्न आवश्यक रहेकामा प्रधानमन्त्री देउवाले जोड दिए ।
यसमा प्रतिष्ठानले ध्यान दिनुपर्ने बताउँदै उनले सरकारले पनि यस काममा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij