वेबटिभी खबर
काठमाडौं । शेयर बजार उतारचढावपूर्ण अवस्थामा छ । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव पनि उस्तै छ । निर्वाचनको माहोल चरम विन्दुमा पुगेको छ भने धितोपत्र बजार क्रमशः विस्तार हुने क्रममा छ ।
सरकारको सहजीकरण एवम् नयाँ कानूनी प्रावधानका कारण साधारण शेयर (आइपीओ) बिक्री गर्न चाहने कम्पनीको संख्यामा वृद्धि भएको छ । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको संख्या मात्रै हेर्ने हो भने साधारण शेयर बिक्री गर्न चाहने ३६ वटा कम्पनी छन् ।
ती कम्पनीले बिक्री गर्ने शेयरको परिमाण १५ अर्ब ९ करोड ७ लाख १८ हजार बराबरको छ । साधारण शेयर बिक्री गर्न लागेका कम्पनीमध्ये २६ वटा कम्पनी जलविद्युत् क्षेत्रका छन् ।
नेपाल स्टक एक्सचेञ्जमा जलविद्युत् क्षेत्रका कम्पनीको संख्या झण्डै चार दर्जन बराबर पुगेको छ । पछिल्ला दिनमा लगातार जलविद्युत् क्षेत्रमा लगानी विस्तार भएको सन्दर्भमा साधारण शेयर बिक्री गर्न चाहने कम्पनीको संख्यामा वृद्धि भएको हो ।
मोदी इनर्जी, मेछ्याङ हाइड्रोपावर, अप्पर लोहारे हाइड्रोपावर, माईखोला हाइड्रोपावर, चिर्खुवा हाइड्रो, भूगोल इनर्जी, अप्पर स्याङ्गे, रेवा इनर्जी, सगरमाथा इनर्जीलगायतका जलविद्युत् कम्पनीले साधारण शेयर बिक्री गर्ने तयारी गरेका छन् ।
यस्तै रिलायवल लाइफ इन्स्योरेन्स, मुक्तिनाथ कृषि कम्पनी, सर्वोत्तम सिमेन्ट, सोनापुर मिरल्स, नेपाल रिपब्लिक मिडिया, डिस मिडिया नेटवर्क, हाथवे इन्भेष्टमेन्ट, ट्रेड टावर, सिटी होटल, घोराही सिमेन्टले पनि साधारण शेयर बिक्रीको तयारी गरेका छन् ।
बोर्डका अनुसार बिपीडब्ल्यु लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था पनि साधारण शेयर बिक्रीको प्रतिक्षामा छन् ।
चालु आवको हालसम्म मात्रै बोर्डले विभिन्न पाँच कम्पनीको एक अर्ब चार करोड ६५ लाख ७५ हजार बराबरको शेयर बिक्रीको अनुमति पाइसकेको छ । तीमध्ये केही कम्पनीले साधारण शेयर बिक्री गरिसकेका छन् ।
पछिल्लो पटक मात्रै पिपल्स हाइड्रोपावर कम्पनीको साधारण शेयर बिक्री सुरु गरेको छ । कम्पनीले सर्वसाधारण, स्थानीयवासीका लागि तीन अर्ब २० करोड बराबरको साधारण शेयर बिक्री गर्ने गरी बोर्डबाट अनुमति पाएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij