Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सुन्तला उत्पादन राम्रो भएपछि बोटबाटै बिक्री

सुन्तला उत्पादन राम्रो भएपछि बोटबाटै बिक्री

  • 508
    SHARES
  • सुन्तला उत्पादन राम्रो भएपछि बोटबाटै बिक्री

    म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ दोसल्ले गाउँमा यस वर्ष सुन्तला राम्रो उत्पादन भएपछि बोटबाटै बिक्री भएको छ ।

    पाक्दै गरेको सुन्तला बोटबाट पोखरा र काठमाण्डौंबाट आएका व्यापारीले खरिद गरेको स्थानीय कृषक मायादेवी पुनले बताइन् । व्यावसायिक सुन्तला खेती गर्दै आएका यहाँका किसानले उत्पादन गरेका सुन्तला पोखरा, चितवन र काठमाडौंबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो ९५ मा किनेका हुन् ।

    दोसल्ले व्यावसायिक सुन्तला जात किसान समूहका अध्यक्ष प्रेमबहादुर पाइजाले गतवर्ष ६२ हजार ५०० किलो सुन्तला निकासी हुँदा ७५ लाख गाउँमा भित्रिएको बताए ।

    यस वर्ष करिब दुई सय नयाँ सुन्तलाका बोटमा पनि फल लागेको र उत्पादन पनि राम्रो भएकाले करिब दुई करोडको हाराहारीमा सुन्तला निकासी हुने अध्यक्ष पाइजाले जानकारी दिए ।

    पाइजाले भने, ‘यस वर्ष नयाँ बिरूवा थपिएका, रोगकीराको समस्या कम र अनुकूल मौसमले उत्पादन बढेकोले गतवर्षको भन्दा बढी आम्दानी हुने आशा गरेका छौं ।’ एक किसानले ५० हजारदेखि दुई लाख ३० हजारसम्मको सुन्तला बिक्री गरेका समूहले जनाएको छ।

    व्यापारीसँग समन्वय गरेर सुन्तला बजार पठाउन समूहले समन्वय गरेको थियो । कूल ५७ घरधुरीको यहाँ १५ हजार मध्ये करिब आठ हजार बोटबाट उत्पादन हुन थालेको छ ।

    परम्परागत कोदो, मकै र गहुँ खेतीको विकल्पमा सुन्तला खेती गरेको किसानले बताए । वर्षमा तीन मुरी कोदो फल्ने बारीमा लगाएको सुन्तलाबाट दुई लाख भन्दा बढी आम्दानी भएको उनले बताए ।

    सडक यातायातको सुविधा भएपछि बाँझो पाखो बारीमा झाडी फाँडेर सुन्तलाका बिरूवा रोप्ने अभियान चलाइको छ । दश वर्षअघि मिलन गर्बुजाको अगुवाइमा दोसल्लेलाई सुन्तला गाउँ बनाउने अभियान सुरु भएको थियो ।

    भीरालो पाखोमा अवस्थित दोसल्लेको भूगोल सुन्तला खेतीका लागि अनुकूल रहेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताए ।

    दोसल्लेमा सुन्तला खेती विस्तारका लागि नयाँ बिरूवा वितरण, किसानलाई बगैँचा र कीरा व्यवस्थापन सम्बन्धी स्थलगत तालिममा सहयोग गरिएको उनले जानकारी दिए ।

    बेमौसममा सुन्तला बिक्री गर्न दोसल्लेमा तत्कालीन कृषि विकास कार्यालयको सहयोगमा सुन्तला भण्डार गृहको भवन बनाइएको थियो ।

    वैदेशिक रोजगार र खेती किसानीबाट धानिएको यहाँका बासिन्दाको जीवनस्तर पछिल्लो समय व्यावसायिक सुन्तला खेतीबाट सुध्रदै गएको अन्नपूर्ण गाउँपालिकाका पूर्व उपाध्यक्ष केशमाया मगरले बताइन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij