वेबटिभी खबर
काठमाडौं । कोभिड-१९ को संक्रमणविरुद्ध लड्का लागि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका १२ अस्पतालहरुले माग गरेअनुरुप क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनमा सहयोग गर्नका लागि एकैदिन सात अस्पतालसँग सम्झौता गरेको छ ।
अस्पतालको व्यवस्थापन तथा उपचार प्रणालीको सुधार तथा क्षमता वृद्धि गरेर संक्रमणमा परेका बिरामीलाई बचाउन महानगरले आफ्नो क्षेत्रभित्र भएका सरकारी तथा सामुदायिक अस्पतालहरुलाई अनुदान रकम दिने १२ अस्पतालसँग सम्झौता गरिसकेको छ ।
कामपाले यसरी सम्झौता गरेका अस्पतालमा वीरेन्द्र सैनिक अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, निजामती कर्मचारी अस्पताल, महेन्द्र नारायण निधि मेमोरियल अस्पताल, हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, मोडल अस्पताल र नेपाल कोरिया मैत्री अस्पताल रहेका छन् ।
यसअघि कामपाले वैशाख २४ गते सम्झौता गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ । त्यस्तै वैशाख २७ गते नरदेवी आयुर्वेदिक अस्पतालसँग अक्सिजनसहितको उपकरण जडान गर्नका लागि सम्झौता गरिसकेको छ ।
‘सानासाना युनिटमा आइसोलेशन वा उपचारका अन्य प्रणाली विकास गर्दा धेरै स्रोत र साधन खर्च हुन्छ । यी ठाउँहरु उपचारका लागि अन्तिम ठाउँ होइनन् । यहाँ कसैलाई जटिल समस्या भयो भने लानु पर्ने अस्पताल नै हो’, कामपा प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘त्यसैले हामीले भौतिक संरचना, विशेषज्ञ जनशक्ति र प्रणाली भएका सामुदायिक र सरकारी अस्पतालको क्षमता बढाउनेतर्फ जोड दिएका हौँ ।'
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij