Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

प्रधानमन्त्री देउवा भन्छन्– अतिक्रमित भूमि कूटनीतिक र वार्ताका माध्यमबाट फिर्ता ल्याएरै छाड्छाैं

प्रधानमन्त्री देउवा भन्छन्– अतिक्रमित भूमि कूटनीतिक र वार्ताका माध्यमबाट फिर्ता ल्याएरै छाड्छाैं

  • 354
    SHARES
  • प्रधानमन्त्री देउवा भन्छन्–  अतिक्रमित भूमि कूटनीतिक र वार्ताका माध्यमबाट फिर्ता ल्याएरै छाड्छाैं

    डडेल्धुरा । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । शनिबार गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकाको भद्रपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै यस्तो भनेका हुन् ।

    ‘समावेशी राजनीति, समावेशी संविधान बचाउन पनि गठबन्धनको सरकार बनाउन आवश्यक छ’,प्रधानमन्त्री देउवाले भने,‘धेरै लामो लडाइँपछि ल्याएको प्रजातन्त्र, समावेशी संविधान बचाउनुपर्ने आवश्यकता छ ।’

    उक्त अवसरमा प्रधानमन्त्री देउवाले अतिक्रमित भूमि कूटनीतिक र वार्ताका माध्यमबाट फिर्ता ल्याएरै छाड्ने बताए । प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलका नेताले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुन्छ ? भन्दै प्रश्न गरे ।

    ‘केपी ओलीजी दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ ?’ प्रधानमन्त्री देउवाले प्रश्न गरे,‘कूटनीति र वार्ताका माध्यमद्वारा भूमि फिर्ता ल्याउने हो, त्यसका लागि भारतसित कुरा गर्ने हो ।’ उनले प्रतिपक्षी दलको नेताले बोल्दैमा केही नहुने धारणा राखे ।

    प्रधानमन्त्री देउवाले विगतमा राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद् विघटन गरेपछि त्यसका विरूद्धमा गठबन्धन बनेको जानकारी दिए । त्यसैले चुनावपछि पनि गठबन्धन सरकार बन्ने उनको भनाइ थियो ।

    प्रधानमन्त्री देउवाले डडेल्धुरामा मेडिकल कलेज स्थापना र विमानस्थल बनाउने बताए । ‘गर्भवतीले उपचार नपाएर ज्यान गुमाउनु पर्दैन, मेडिकल पढाइ पनि यही हुन्छ’, देउवाले भने, ‘विमान स्थलका विषयमा सम्भाव्यता अध्ययन गरिने र जहाज ल्याएरै छोडिनेछ ।’ 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij