Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

नारायणी नदीमा छठ पूजाको तयारी अन्तिम चरणमा

नारायणी नदीमा छठ पूजाको तयारी अन्तिम चरणमा

  • 390
    SHARES
  • नारायणी नदीमा छठ पूजाको तयारी अन्तिम चरणमा

    भरतपुर । छठ पर्वको अवसरमा चितवनको नारायणी नदी किनारमा श्रृङ्गारको काम अन्तिम चरणमा पुगेको छ । तराई सामूदायिक सेवा समिति नारायणगढका अध्यक्ष जयकिशोर पाण्डेयले नदी किनारमा दुई हजार व्रतालु बस्न मिल्ने गरी टेन्ट निर्माण गरिएको बताए।

    साथै, पूजा गर्ने ठाउँमा सरसफाईको काम चलिरहेको उनले जानकारी दिए । नदी किनारमा पूजाका लागि ३२ ठाउँ निर्माण गरिएको छ भने ती स्थानमा सूर्यदेवसहित विभिन्न भगवानका ३० वटा मूर्ति राखिनेछ ।

    गत वर्ष छिमेकी जिल्लासँगै काठमाडौंबाट पनि छठ पूजा गर्न भक्तजन यहाँ आएको र यस वर्ष पनि छिमेकी जिल्लाबाट व्रतालुहरू आउने क्रम जारी रहेको उनको भनाइ छ । चितवनसहित नवलपरासी पूर्व (नवलपुर), तनहुँ, धादिङ, गोरखा र लमजुङबाट समेत व्रतालु छठ मनाउन आउने गरेका छन् ।

    ‘कालीगण्डकीको शालिग्राम लिएर बग्ने नारायणी पवित्र नदी हो’, उनले भने, ‘त्यसैले प्रत्येक वष छठ पर्वको अवसरमा व्रतालुहरू यहाँ आउने गरेका छन् ।’ तराई सामुदायिक सेवा समिति नारायणगढका सदस्य महेशकुमार कानुले १५ वर्षदेखि नारायणी किनारमा व्यवस्थितरुपमा छठपर्व मनाउन थालिएको बताए ।

    ‘विसं २०४८ देखि सानो समूह बनाएर यहाँ छठ पर्व मनाइन्थ्यो, तराई सामुदायिक सेवा समिति नारायणगढ स्थापना भएपछि व्यवस्थितरूपमा मनाउन थालिएको हो’, उनले भने ।व्यवस्थापनको खर्च समितिले घरदैलो कार्यक्रममार्फत् स्वच्छिक आर्थिक संकलन गरेको उनको भनाइ छ ।

    ‘समितिले हरेक वर्ष व्यवस्थितरुपमा छठ मनाउन थालेपछि यहाँ व्रत बस्ने र हेर्न आउनेको संख्या बढ्दै गएको छ’, कानुले भने, ‘तराईबासी मात्रै होइन, पहाडी समूदाय पनि नदीमा पूजा र स्नान गर्न आउँछन् ।’

    समितिका सचिव नारदप्रसाद परिहस्तले आस्था र विश्वासको धरोहरका रुपमा छठपर्व मनाउँदै आएको बताए । छठका बेलामा पहिला पहिला तराईका आफ्नै जिल्लामा वा घरमा जाने पनि पछिल्लो समयमा यही नदी किनारमा व्रत वस्न थालेका छन् । सोही कारण हरेक वर्ष संख्या बढ्दै गएको छ ।

    यस क्षेत्रमा नारायणी किनारसँगै माडी नगरपालिकाको रिउ, बाँदरमुढे, चितई, रतनी खोला, राप्तीको पम्फा, ढुम्री, लोथर खोला, कालिका नगरपालिकाको खगेरी, बुङ खोलामा छठको पूजा गर्ने गरिन्छ ।

    उज्यालो दिने, न्यानो तथा गर्मी दिने, रोगबाट जोगाउने सूर्य नै भएकाले कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यको आराधना गर्दै छठ मनाउने गरिन्छ । आइतबार अस्ताउँदो सूर्यलाई पूजा गरेर रातभर जाग्राम बस्ने र बिहीबार बिहान उदाउँदो सूर्यलाई प्रसाद चढाएपछि छठपर्व सकिन्छ ।

    चामल, पिठोको ठेकुवा, कसार, विभिन्न मिठाई, उखु, अदुवालगायतका प्रसाद बाँसको टोकरी वा सुप्पोमा राखेर नजिकका जलाशयमा लगेर अस्ताउदो सूर्यलाई अर्य दिने गरिन्छ। छठ पर्वमा महिला व्रत पनि बस्ने गर्छन् । दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वासका साथ महिलाहरू व्रत बस्ने चलन छ ।

    नारायणगढबासी जुलिया झाले भनिन्, ‘भगवानप्रतिको आस्था र विश्वासले गर्दा हरेक वर्ष छठ पर्व मनाउँदै आएकी छु ।’ उनले सानैदेखि छठ पर्वप्रति लगाव भएको र हरेक वर्ष यो पर्व धुमधामले मनाउँदै आएको बताइन् ।

    छठको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ ।

    पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने जनविश्वास पनि छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij